काठमाडौँ- प्रमुख विपक्षी नेकपा एमालेले प्रधानन्यायाधीशविरुद्धको महाअभियोगलाई न्यायपालिका र लोकतन्त्रविरुद्धको षडयन्त्रपूर्ण कदम भएको ठहर गरेको छ। केन्द्रीय सचिवालयको आकस्मिक बैठकले सत्ता गठबन्धनले नेपालमा नियन्त्रित अस्थिरता सिर्जना गर्ने उद्देश्यबाट महाअभियोग प्रस्ताव ल्याएको ठहर गरेको हो।
बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले महासचिव शंकर पोखरेलले महाअभियोगको प्रतिवाद गर्ने र जनतालाई यसको विपक्षमा उभिन आग्रह गर्ने निर्णय गरेको बताए। महासचिव पोखरेलले सोमवार बस्ने संसदीय दलको बैठकले महाअभियोगको प्रतिवाद गर्ने सन्दर्भमा महत्वपूर्ण निर्णय गर्ने समेत बताए।
सत्ता गठबन्धनले लोकतान्त्रिक गणतन्त्रविरुद्धका गतिविधि गरेको भन्दै एमालेले कांग्रेस माओवादी गठबन्धनले पटक पटक सत्तामा गएका बेला प्रधानन्यायाधीशमाथि महाअभियोग लगाएर न्यायपालिकामाथि आक्रमण गर्ने गरेको भन्दै जनतालाई प्रतिवादमा उत्रिन समेत आह्वान गरेको छ। साभार - नेपालप्रेस