काठमाडौँ - हलिउड पपस्टार ब्रिटनी स्पेयर्स तेस्रो पटक आमा बन्ने तयारीमा छिन्। उनले सोमबार आफू गर्भवती भएको जानकारी सार्वजनिक गरेकी छिन्। पिताको संरक्षण स्वतन्त्रता पाएको पाँच महिनापछि उनी गर्भवती भएकी हुन्।
अघिल्लो वर्ष ब्रिटनीले पिताको संरक्षणका कारण उनले कसैलाई विवाह गर्न र गर्भनिरोधक हटाउन असमर्थ भएको अदालतले बताएकी थिइन्। तर अब आफ्ना ४ करोडभन्दा बढी इन्स्टाग्राम फलोअर्सलाई आफू गर्भवती भएको जानकारी दिएकी छिन्।
४० वर्षकी ब्रिटनी स्पेयर्स पहिले नै दुई सन्तानकी आमा हुन्। उनका दुई छोरा किशोरावस्थामा छन्। उनले आफू विगतका गर्भावस्थामा डिप्रेसनको शिकार भएको पनि जानकारी दिइन्। आफ्ना प्रेमी स्याम स्घारीसँगको यो उनको पहिलो सन्तान हुनेछ। उनले पहिले नै आफ्ना पार्टनरसँग परिवार बसाल्न चाहेको बताएकी थिइन्। २८ वर्षका उनका पार्टनर उनको पर्सनल ट्रेनरसमेत हुन्।
उनले आफ्नो इन्स्टाग्राममा लेखेकी छिन्, ‘म गर्भवती छु। म बाहिर निस्कन पाउँदिन किनभने पापाराजीले मेरो तस्बिरमार्फत् पैसा कमाउनेछन्। यो मुश्किल छ किनभने जब म गर्भवती थिएँ तब मलाई प्रिन्याटल डिप्रेशन थियो। यो निकै खराब अनुभव हो। त्यतिबेला महिला यसबारे कुरा गर्दैनथे। र यदि गर्भावस्थामा तपाईंले यसबारे कुरा गर्नुभएको भए केही मानिसले यसलाई खतरनाक मान्दथे। तर आज धेरैजसो महिलाले यसबारे कुरा गर्ने गर्छन्। भगवानलाई धन्यवाद किनभने अब हामीले यो पीडालाई गोप्य राख्नुपर्दैन। म यसपटक हरेक दिन योगा गर्नेछु। असाध्यै खुसी र प्रेम फैलाउनेछु।’
अनाउन्समेन्टपछि स्यामले पनि पोस्ट सेयर गरेका लेखेका छन्, ‘विवाह र बच्चा, प्रेम र इज्जतले भरिएको एउटा बलियो सम्बन्धको स्वाभाविक हिस्सा हो। पिता बन्नका लागि म निकै अघिदेखि लालायित थिएँ र म यसलाई हल्का रुपमा लिन्नँ। यो मेरो जीवनको सबैभन्दा ठूलो जिम्मेवारी हुनेछ जसलाई म निभाउनेछु।’