महिना दिनसम्म मनाइने किराँत समुदायको चाड साकेला उभौलीको समापन

खोटाङ - महिना दिनसम्म मनाइने किराँत समुदायको महान चाड साकेला उभौली चाड विधिवतरूपमा समापन गरिएको छ। जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारस्थित माटीकोरे खेलमैदानमा बृहत् साकेला सिली प्रदर्शन गरेर औपचारिकरूपमा साकेला उभौली चाड समापन गरिएको हो।

किराँत राई यायोख्खा र किराँत सेवा समाज खोटाङले संयुक्तरूपमा शनिबार आयोजना गरेको बृहत् साकेला सिली प्रदर्शनीमा विभिन्न स्थानका ११ समूह सहभागी थिए। साकेला उभौलीको अवसरमा किराँत समुदायले ‘अन्नबाली सप्रियोस, रोगव्याधी नलागोस्, प्राकृतिक विपत्ति आइ नलागोस्, सुव्यफाव्य होस्’ भन्ने कामना गर्दै भूमि, पितृ र अन्नको पूजाआजा गरेर साकेला उभौली मनाउने गरेका छन्।

साकेला उभौली हरेक वर्ष दिक्तेल बजारस्थित किराँत ऐतिहासिक एवं पर्यटकीयस्थल मझुवागढीमा भूमि अर्थात् चुलाको औपचारिक पूजा गरेर सुरु हुने र माटीकोरे खेलमैदानमा बृहत् साकेला सिली प्रदर्शन समापन गर्ने चलन छ। साकेला उभौली चाडका अवसरमा महिना दिनसम्म आफन्तजन, साथीभाइ, नरनाता, छरछिमेकबीच भेटघाट गर्दै शुभकामना आदान–प्रदान गर्ने चलन छ।

साकेला चाडको अवसरमा परम्परागत वेषभूषामा सजिएका दाजुभाइ, दिदीबहिनी, बुवाआमा, इष्टमित्र भेला भएर गोलो घेरामा ढोल र झ्याम्टा बजाउँदै साकेला गीत गाएर नाच्ने प्रचलन छ। साकेला थान तथा चुलामा पितृको पूजाआजा गरेपछि साकेला गीतको भाकामा हात र खुट्टाले भाका टिप्दै साकेला नाच्ने गरिन्छ।

अन्नबाली छर्ने बेला अर्थात् वैशाख पूर्णिमादेखि महिना दिनसम्म उभौली र अन्नबाली उठाउने बेला मङ्सिर पूर्णिमादेखि १५ दिनसम्म साकेला उधौली चाड मनाउने गरिएको किराँत राई यायोख्खा खोटाङका सचिव युगशन किराँतले जानकारी दिए। साकेला चाडको अवसरमा नाचिने साकेला सिलीमा मानवजातिको जन्मदेखि मृत्युसम्मका र हरेक पशुपक्षीको क्रियाकलापलाई चित्रण गरिन्छ।

साकेला चाड  र साकेला सिलीको शुरुवातका विषयमा विभिन्न जिल्ला तथा ठाउँमा फरक–फरक मिथक तथा भनाइहरु पाइन्छन्। यसको शुरुवातका विषयमा किराँत समुदायमा आ–आफ्नै तर्क र भनाइहरु रहेका छन्। 

यद्यपि, किराँत समुदायको आदिम पुर्खा खोक्चिलिपा, तायामा र खियामाले यसको शुरुवात गरेको किंवदन्तीमा सबै एक मत रहेका छन्। साकेला चाड खोटाङसहित भोजपुर, धनकुटा, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, सुनसरी, इलाम, पाँचथर, झापा, मोरङ, काठमाडौँ, भक्तपुर, ललितपुर लगायतका जिल्लामा मनाइन्छ।

साकेला चाडले जातीय, धार्मिक तथा सांस्कृतिक सद्भाव, आपसी मेलमिलाप कायम गर्दै द्वन्द्वलाई निरुत्साहित गर्न भूमिका खेल्ने किराँत राई यायोख्खा खोटाङका अध्यक्ष हात्तीराम राईले बताउए। “साकेला चाडमा विशेषगरी प्रकृति र पितृको पूजा गर्दै आपसमा शुभकामना आदान–प्रदान गर्ने गरिन्छ”, उनले भने, “प्रकृति र पितृको पूजासँगै मनाइने यो साकेला चाडले किराँत र गैरकिराँत समुदायबीच आपसी सद्भाव र बन्धुत्व कायम गर्न सघाउ पु¥याउने अपेक्षा गरेका छौँ।”

साकेला चाड किराँत राई, लिम्बू, याक्खा र सुनुवार समुदायले प्रमुख चाडका रूपमा मनाउने गरेका छन्। माझ किराँत भनेर चिनिने खोटाङमा पछिल्लो समय साकेला चाडलाई गैरकिराँत समुदायले समेत मनाउन थालेका छन्। बालबालिकादेखि वृद्धसम्म एउटै लहरमा सामूहिकरूपमा नाचिने साकेला नृत्यले आदिवासी जनजातिको सामूहिक भावना प्रदर्शन गर्छ। हातखुट्टाको चालले पङ्क्तिबद्धरूपमा नाच्दा प्रस्तुत गर्ने शरीरको हाउभाउ र अभिनयमा खोरिया फाँडेको, अन्नबाली लगाएको, गोडमेल गरेको र बाली उठाएकोजस्ता कृषिकार्य प्रदर्शन गरिन्छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×