भारत– बलिउड अभिनेता अजय देवगन र रोहित शेट्टीको मित्रता लुकेको छैन। उनीहरू आपसमा असल मित्र मात्र नभइ एक अर्कालाई उत्तिकै सम्मान र इज्जत पनि गर्छन्।
अजयकै फिल्म कम्पनी अजय देवगन फिल्म्सको आफूलाई एक सदस्य बताउने रोहित पछिल्लो समयका राम्रा निर्देशक हुन्। उनले निर्देशक गरेको सूर्यवंशी गत वर्षको हिट फिल्म मध्येको एक हो। रोहितको निर्देशनमा अजयले थुप्रै फिल्महरू गरिसकेका छन्।
यिनै रोहित अजयको ब्यानरबाट बनेको कार्यक्रममा देखिने गर्छन्। पत्रकारको प्रश्नमा उनी आफूलाई कम्पनीको सदस्य बताउने गरेका छन्। सानैदेखि मित्र रहेका अजय र रोहितले सङ्घर्षका दिनहरूसँगै बिताएका छन्। यसैले गर्दा पनि रोहित अजयलाई आफ्नो दाइ सरह मान्ने गर्छन्। यिनै रोहितले अजय सदैव निर्देशक बन्न चाहेको बताएका छन्। अजय निर्देशित ‘रन वे ३४’ को ट्रेलर सार्वजनिक कार्यक्रममा रोहितले अजयको बारेमा केही खुलासा गरेका छन्।
’अजय पहिलादेखि नै निर्देशक बन्न चाहन्थे। किनकी हामीले उहाँबाट धेरै काम सिकेका छौँ। तर, उनले अभिनेताको रूपमा आफूलाई अगाडि ल्याए र अहिले निर्देशनमा पनि अगाडि आउँदैछन्। उनी हाम्रो बलिउडको राम्रो टेक्निसियन हुन्’ रोहितले भने।
उनले अजयले फिल्मको प्राविधिक पक्षमा आएको परिवर्तनलाई सिक्दै अगाडि बढेको बताए। ‘फिल्म निर्माणमा धेरै परिवर्तन आएका छन्। जसलाई अजयले आफूमा अपग्रेड गर्दै अगाडि बढिरहनु भएको छ’ रोहितले भने।
श्रोत : खबरहब