काठमाडौँ - फिल्मको चरित्रमा डुब्न कलाकारले के-केसम्म गर्छन् ? केही नेपाली नायिकाले कपाल खौरिए, कोही महिनौं घरबाहिर निस्किए, कोहीले ठमेलको रात्रिजीवन अवलोकन गरेका थिए।
तर अभिनेता प्रदीप खड्काले चाहिं एकान्तकुनादेखि अनामनगरसम्मको करिब ६ किलोमिटर लामो बाटो खाली खुट्टा हिंडेरै नापेका छन्। फिल्म ‘प्रकाश’को चरित्र चित्रणमा अभिनेता अनुप बरालले प्रदीपलाई यस्तो चुनौती दिएका थिए जसलाई उनले सजिलै स्वीकार गरेका थिए।
जसअनुसार प्रदीप एकान्तकुनास्थित घरबाट कार्यशाला भएको थलो अनामनगरसम्म हिंडेर आइपुगे। यो कुरा प्रकाश फिल्म छायांकनमा जानु तीन महिनाअघिको कुरा हो।
प्रदीपले उक्त फिल्ममा जुम्लाको एक विपन्न युवकको भूमिका निर्वाह गर्नुपर्ने थियो र जुम्लामा उनले खाली खुट्टा नै हिंड्नुपर्ने थियो। मानसिक रुपमा तयार नभएका प्रदीपलाई अनुपले यस्तो चुनौती दिएका थिए। ‘उनले सजिलै चुनौती स्वीकारे र चप्पल हातमा समातेर अनामनगससम्म आइपुगे,’ अनुपले भने।
‘चरित्रमा डुब्न स्टारले यस्तो गर्नैपर्ने थियो,’ अनुप भन्छन्, ‘किनभने प्रदीप बक्स अफिसमा हिट हिरो हुन्, उनलाई चरित्रमा ल्याउन यस्तो गर्नु जरुरी पनि थियो।’ अनुपले ‘प्रकाश’को कार्यशाला पनि चलाएका थिए।
दिनेश राउत निर्देशित फिल्म प्रकाश भदौ १० गते प्रदर्शनको तयारीमा रहेको छ।