मोरङ । बढी शुल्क मागेको विरोधमा आन्दोलनरत विद्यार्थीहरुले विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको प्रशासन कक्षमा तालाबन्दी गरेका छन्।
आन्दोलनरत विद्यार्थीले अस्पतालको कलेज प्रशासन कक्षमा बुधबार तालाबन्दी गरेका हुन्। अस्पतालले एमबीबीएसका विद्यार्थीलाई अतिरिक्त शुल्कको नाममा मूल्य वृद्धि गरिएको जनाउँदै विद्यार्थी आन्दोलनमा उत्रिएका हुन्।
तोकिएभन्दा बढी शुल्क माग गरेको, होस्टल बसाइ अनिवार्यलगायत कुरामा विद्यार्थीहरुले असहमति जनाउदै आएका छन् । विद्यार्थीहरुको असहमतिपछि नोबेलले एमबीबीएसमा अध्ययनरत आन्दोलित विद्यार्थीलाई कक्षा कोठा प्रवेशमा रोक लगाउँदै आएको थियो।
नोबेलले अतिरिक्त शुल्क नबुझाएकोमा करिब ८० विद्यार्थीलाई दुई सातादेखि कक्षा प्रवेशमा रोक लगाउँदै आएको विद्यार्थीको आरोप छ।
विभिन्न संगठनका विद्यार्थी नेताहरूले बुधवार अस्पतालअगाडि मुख्यद्वार फोडेर चौथो तलामा रहेको प्रशासन कक्षमा तालाबन्दी गरेका हुन् ।