काठमाडौँ - सरकारले निजामती कर्मचारीको सरुवा व्यवस्थापन प्रभावकारी बनाउने भएको छ। कर्मचारीको एकै वर्षमा चाररपाँच पटकसम्म विभिन्न कार्यालयमा सरुवा हुन थालेपछि कर्मचारी सरुवा प्रणालीलाई व्यवस्थित गर्न लागिएको हो।
छोटो समयमा कर्मचारीको सरुवा हुँदा नियमित सेवा प्रवाह र योजना कार्यान्वयनमा समस्या देखिन थालेपछि निजामती कर्मचारीको सरुवा प्रणालीलाई व्यवस्थित गर्न लागिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। मन्त्रालयले कर्मचारीको सरुवा प्रणालीलाई व्यवस्थित गर्न मन्त्रालयकै दुई जना सहसचिव रहेको कार्यदल गठन गर्न लागेको छ।
मन्त्रालयका प्रवक्ता कलमप्रसाद भट्टराईले केही दिनभित्रमा कार्यदल निर्माण भई काम सुरु हुने र कार्यदलले दिएको प्रतिवेदनलाई अक्षरशः कार्यान्वयन गरी कर्मचारीको सरुवा प्रणालीलाई व्यवस्थित गरिने बताए। उनका अनुसार कर्मचारीको सरुवा प्रणालीलाई पूर्वअनुमानयोग्य र स्वचालित बनाउनका लागि कार्यदल गठन गरी काम गर्न लागिएको हो।
अहिले राम्रा र आकर्षक कार्यालयमा पहुँच र शक्तिका आडमा वर्षौँसम्म टिकिरहने तर पहुँच नभएका कर्मचारी केही महिनामा नै सरुवा हुने प्रवृत्ति छ। दुर्गम कार्यालयमा कर्मचारी जान नचाहने हुँदा कर्मचारीको अभावमा सेवा प्रवाह ठप्प हुने गरेको छ। कार्यदललाई सरुवासम्बन्धी हालका कानुनी व्यवस्था र अभ्यास हेरेर सुझाव दिने गरी कार्यसर्त तोकिने छ।
गोरखापत्र दैनिकबाट