काठमाडौँ - दक्षिण अमेरिकी महादेशको च्याम्पियन अर्जेन्टिना र युरोपियन महादेशको च्याम्पियन इटाली बीच जुन १ तारिखमा बहुतप्रतीक्षित मैत्रीपूर्ण खेल आयोजना हुँदैछ।
डिएगो म्याराडोना सुपर कप नाम दिइएको उक्त प्रतियोतिगा बेलायतमा हुनेछ। उक्त खेलका लागि अहिले अर्जेन्टिना र इटाली दुवै तयारीमा छन्। यो मैत्रीपूर्ण खेल आउन अब ४ दिन बाँकी छ।
खेलको तयारीमा रहेको लिओनल मेस्सीको टिम अर्जेन्टिनाको ट्रेनिङ हेर्न जाने दर्शकको ओइरो लागेको छ। साथै यो नयाँ रेकर्ड पनि बनेको छ।
उनीहरू खेलभन्दा दुई दिनअघि स्पेनबाटै बेलायत जाने कार्यक्रम रहेको छ। टोली अर्जेन्टिनाबाट तयारीका लागि ३ दिनअघि स्पेन पुगेको थियो। स्पेनिस मिडिया ‘मार्का’ र अर्जेन्टिनी मिडिया ‘टिजाईसी सपोर्ट’ का अनुसार शनिबार अर्जेन्टिनी टोलीले स्पेनस्थित बिल्बाओमा ‘खुला प्रशिक्षण’ गरेको थिए।
सो दिनको प्रशिक्षण हेर्न करिब ५० हजार दर्शक रंगशाला पुगेका थिए। अर्जेन्टिनी टोली ला लिगा खेल्ने क्लब एथ्लेटिक बिल्बाओको घरेलु रंगशालामा अहिले प्रशिक्षण गरिरहेको छ। टोलीमा सबै खेलाडी समावेश छन्।
अर्जेन्टिनाको खुला प्रशिक्षण हेर्नकै लागि ५० हजार दर्शक आएपछि यसले नयाँ रेकर्ड बनाएको छ। कुनै पनि अन्तर्राष्ट्रिय टोलीको प्रशिक्षण हेर्नकै लागि ५० हजार दर्शक रंगशाला पुगेको २१औं शताब्दीमा यो नै पहिलोपटक हो। ‘मार्का’ले यो रेकर्ड बारे एक रिपोर्ट नै प्रकाशित गरेको छ।