विद्युत्‌का पोल ढालेपछि त्रियुगा र चौदण्डीगढी नगरक्षेत्र अन्धकार

उदयपुर - जिल्लाको त्रियुगा र चौदण्डीगढी नगरपालिका क्षेत्रमा गत शनिबार आएको बाढीले विद्युत्‌का पोल ढालेपछि ती नगर क्षेत्र सहित अन्य गाउँ अन्धकारमय बन्न पुगेका छन्।

त्रियुगा –२ लुहालेखोलामा आएको बाढीले विद्युत् पोल ढालेपछि अहिले नगरको वडा नं १ जोगीदह, २ को खैजनपुर र ३ को मोतीगडा, चाप, भुल्के गाउँ अन्धकारमय बन्न पुगेका छन्। भुल्केका स्थानीय ईश्वरीप्रसाद भट्टराईले पटक–पटक विद्युत् प्राधिकरणलाई ध्यानकर्षण गराउँदा पनि अहिलेसम्म पोल मरतमत नभएको बताए।

शनिबारकै वर्षाको कारण बाढीले चौदण्डीगढी –१ र २ तथा ५, ९ र १० वडा जोड्ने विद्युत् पोल ढालेको थियो। चौनपा–२ रानीवासका स्थानीय तेजेन्द्र कार्की भन्छन्, “चार दिनदेखि निरन्तर अन्धकारमा बस्दै आएका छौँ, विद्युत् प्राधिकरणलाई पटक–पटक पोल मर्मत गर्न अनुरोधसमेत गरेका छौँ तर अहिलेसम्म बिजुली बलेको छैन।”

विद्युत् प्राधिकरण गाईघाटका इञ्जीनियर सत्यनारायण साह भन्छन्, “बाढीले धेरै पोल ढालेर क्षति पुर्‍याएको छ, दिनरात आफूहरूको थोरै जनशक्तिले खटेर तीव्ररूपमा काम गरिरहेका छौँ।” ती क्षेत्रका स्थानीयवासी मोबाइल चार्ज गर्न अन्यत्र गाउँ गइरहेका छन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×