एक व्यक्तिले दुई कार्यकालभन्दा धेरै अध्यक्ष हुन नपाओस्’ : उपाध्यक्ष पाण्डे

काठमाडौं — नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले कुनै पनि राजनीतिक दलमा एउटै व्यक्तिले दुई कार्यकालभन्दा धेरै अध्यक्ष बन्न नपाउने प्रावधान कानुनमै राखिनुपर्ने बताएका छन्। उनले दलभित्रको आन्तरिक लोकतन्त्र मजबुत बनाउन यस्तो व्यवस्था आवश्यक भएको बताए।

सोमबार ईश्वर पोखरेल समूहद्वारा आयोजित अन्तरक्रियामा बोल्दै पाण्डेले देशको कानुनदेखि पार्टीको विधानसम्म लोकतान्त्रिकरणको विषय आगामी महाधिवेशनमा प्रमुख एजेन्डा बन्ने स्पष्ट गरे।

उनका अनुसार हाल एमालेमा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व आएपछि लोकतान्त्रिक प्रक्रियामा विचलन देखिएको छ। ‘७० वर्षे उमेर सीमा लगायतका सुधारका कुरा उहाँकै पहलमा ल्याइयो, तर व्यवहारमा उहाँले धेरै कुरा मिच्नुभयो,’ पाण्डेले टिप्पणी गरे।

पाण्डेले एमालेजस्तो लोकतान्त्रिक इतिहास बोकेको पार्टी ओलीको शैलीका कारण व्यक्तिवादी पार्टीमा झर्दै गएको दाबी गरे। उनका अनुसार केही व्यक्तिको निर्णयमा चल्ने अवस्था बढेपछि पार्टी जनसमुदायभित्र संकुचित हुँदै गइरहेको छ र नयाँ पुस्तालाई आकर्षित गर्न नसकिरहेको छ।

उनले भदौ २३–२४ मा भएको जेन–जी आन्दोलनले पनि पुराना राजनीतिक दलमा लोकतान्त्रिक सुधारको मागलाई बलियो बनाएको भन्दै त्यसलाई बेवास्ता गर्न नहुने बताए।

पाण्डेको भनाइमा, दलगत लोकतन्त्र जोगाउन एउटा व्यक्ति दुई पटकभन्दा बढी अध्यक्ष नबन्ने व्यवस्था कानुनमै अनिवार्य गर्नुपर्ने समय आइसकेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×