काठमाडौँ - जेठ १४ गते दशरथ रंगशालामा हुने सलमान खानको कन्सर्टमा बलिउड नायिका ज्याकलिन फर्नान्डिज नआउने पक्का भएको छ। विदेश यात्राको अनुमति माग्दै अदालतमा दायर निवेदनलाई ज्याकलिनले बुधबार फिर्ता लिएकी छिन्।
मनी लाउन्ड्रिङ सम्बन्धी अदालतमा विचारधिन मुद्दाको छानविन निरन्तर हुने भएपछि ज्याकलिनका वकिलले विदेश यात्राको अनुमति सम्बन्धी निवेदन फिर्ता लिएका हुन्। यसको अर्थ हो, मुद्दाको छिनोफानो नभएसम्म उनलाई विदेश यात्रामा निस्कन राेक लगाइएको छ।
सुकेश चन्द्रशेखर नामक व्यक्तिसँगको करिब ७०० करोड भारुको गैरकानूनी मुद्रा ओसारपोसारको मुद्दामा ज्याकलिन मुछिएकी छिन्। प्रर्वतन निर्देशनालयले उनीविरुद्ध लुकआउट सर्कुलर जारी गरेको छ।
सलमानको द ब्याङ रिलोडेड टूरमा ज्याकलिन सदस्य समेत छिन्। नेपालसहित अबुधावीमा हुने आइफा अवार्ड(जुन अहिले स्थगित भैसकेको छ)सहित फ्रान्सको कार्यक्रममा जान ज्याकलिनले अनुमति माग्दै अदालतमा याचिका दिएकी थिइन्।
ज्याकलिन नेपाल नआउने भएपछि आयोजकले उनको ठाउँमा अर्की बलिउड अभिनेत्री पूजा हेगडेलाई ल्याउने तयारी गरिरहेको छ। नेपाल कन्सर्टका लागि आवश्यक उपकरण बोकेको झन्डै ३२ वटा ट्रक आज भारतबाट नेपालको लागि हिँडेको समेत बताइएको छ।