काठमाडौँ । नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको उत्तर प्रदेशदेखि बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको मौसमविदले जनाएका छन् ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शनिबार) कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जनाइएको छ । कोशी र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानहरूमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ । आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार तराईका भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहने हुनाले आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन अनुरोध महाशाखाको छ । ती भू–भागहरूमा आगामी २ दिन (जेठ १९ गते देखि जेठ २० गते) सम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको छ ।