काठमाडौँ - अविरल भारी वर्षाका कारण पृथ्वी राजमार्गको नारायणढ-मुग्लिनसहित विभिन्न राजमार्गका सडक खण्डहरु अवरुद्ध भएका छन्।
नारायणगढ-मुग्लिन सडकखण्डको सत्र किलोमा पहिरो जाँदा बिहीबार बिहानबाट यातायात अवरुद्ध भएको छ। त्यस्तै, मकवानपुरको बागझोर खोलामा बाढी आउँदा त्रिभुवन राजपथअन्तर्गत हेटौंडा-पालुङ-काठमाडौं सडकखण्ड र भिमफेंदी-कुलेखानी सडकखण्ड अवरुद्ध भएको छ।
सुनौली-पोखरा जोड्ने सिद्धार्थ राजमार्गको वालिङ-गल्याङखण्ड पनि पहिरोले सडक यातायात अवरुद्ध भएको प्रहरीको भनाई छ। ललितपुरको टुकुचेमा पहिरो गएपछि कान्तिलोकपथ, स्याङ्जा र कास्कीको सीमास्थित कुभिण्डेमा सिद्धार्थ राजमार्ग, बेनी-जोमसोम सडक, बेनी-भकुण्डे, बेनी-पाखापानी, बेनी-दरबाङ, बेनी-पुलाचौरलगायत थुप्रै राजमाग, सडक र ग्रामीण सडकहरु पहिलो खसेर तथा सडक भासिएर अवरुद्ध हुन पुगेका छन्। भारी वर्षाका कारण लम्जुङको बेंसीसहर र मनाङको चामे जोड्ने सडक अवरुद्ध भएको समाचार छ।
नारायणी नदी र राप्ती नदिको जलसतह बढेर जोखिमपूर्ण अवस्थामा पुगेपछि स्थानीय प्रशासनले सतर्कता अपनाउन आव्हान गरेको छ। म्याग्दी र कालीगण्डकी नदीको सतह पनि बढेपछि तटीय क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ।
बर्षा जारी रहँदा र बाढी पहिरोका कारण धेरै ठाउँमा सडक यातायात अवरुद्ध हुँदा दशैंको टीका लगाउन रआशीर्वाद थाप्नका लागि हिंडेका तथा हिंड्ने योजनामा रहेकाहरु प्रभावित भएका छन्। बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीको असर उत्तर पश्चिमतर्फ सर्दै जाने क्रममा नेपालमा पनि निरन्तर वर्षा भइरहेको मौसमविदले बताएका छन्। बर्षा अझै केही दिन जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।