काठमाडौँ - नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानसम्बन्धी उपकरण (नेभिगेसन इक्विपमेन्ट) जडान भएका देशभरका विमानस्थलमा बिहीबारदेखि यान्त्रिक उडान गर्ने भएको छ। विमानस्थलमा जडान भएका उपकरणले काम गरे नगरेको परीक्षण गर्न एरोथाईको टोली नेपाल आइसकेको छ।
कम्तीमा छ महिना र बढीमा हरेक दुई वर्षमा गर्नुपर्ने उक्त नियमित परीक्षण उडान गर्न एरोथाईको प्राविधिक उपकरण जडित जहाजसहितको टोली बुधबार भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिसकेको छ। उक्त टोलीमा एरोथाईका पाइलट, रेडियो, एरोनटिकल, इलेक्ट्रोनिकल इन्जिनियर तथा प्राविधिक छन्। भैरहवा विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालका अनुसार एरोथाईको टोलीले बिहीबार गौतमबुद्व विमानस्थलमा यान्त्रिक परीक्षण उडान गर्नेछ।
प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण उडान गर्दा देशभरका अन्य विमानस्थलमा पनि यान्त्रिक परीक्षण उडान हुन लागेको उनले बताए। उनले भने, “एरोथाईको टोलीले बुधबार भैरहवामा यान्त्रिक उडान गरेर एयर ट्राफिक कन्ट्रोलर, टावर, धावन मार्ग र विमानस्थलमा जडान भएका बत्ती, सञ्चार उपकरणले काम गरे नगरेको परीक्षण गरिनेछ।”बिहीबार भैरहवामा परीक्षण उडान गरेर उक्त टोलीले शुक्रबार नेपालगञ्ज विमानस्थलमा परीक्षण उडान गर्ने तयारी रहेको उनले बताए।
गोरखापत्र दैनिकबाट