राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र ऊर्जामन्त्री कुलमान घिसिङ नेतृत्वको समूहबाट चार जना पदाधिकारी समावेश गर्ने सहमति भएको छ।
रास्वपा स्रोतका अनुसार बालेन समूहबाट एक जना महामन्त्री र एक जना सहमहामन्त्री नियुक्त गरिनेछ। त्यस्तै, कुलमान घिसिङ समूहलाई एक जना सहमहामन्त्री र एक जना सहप्रवक्ता दिने सहमति भएको छ।
‘बालेन र कुलमान समूहबाट दुई–दुई जनालाई पदाधिकारीमा सामेल गराउने भद्र सहमति भएको हो,’ स्रोतले भन्यो, ‘सहमति अनुसार नाम आउन बाँकी छ।’
पार्टी सभापति रवि लामिछानेले बालेन शाह र कुलमान घिसिङलाई रास्वपामा सामेल गराउन छुट्टाछुट्टै सहमतिमा हस्ताक्षर गरिसकेका छन्। सहमतिअनुसार बालेनलाई आगामी प्रतिनिधिसभा निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार बनाउने व्यवस्था गरिएको छ भने कुलमान घिसिङलाई रवि लामिछानेपछि पहिलो वरीयताको उपसभापति बनाइएको छ।
हाल रास्वपामा एक जना महामन्त्री र एक जना सहमहामन्त्री छन् भने सहप्रवक्तामा दुई जना कार्यरत छन्।