काठमाडौँ - नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र राष्ट्रिय टोलीका खेलाडीबीचको विवादबारे तथ्य खोज्न गठन गरिएको समितिले बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा) लाई प्रतिवेदन बुझाउने भएको छ।
एसियन कप छनोटको तयारीमा रहेको टोलीका १० सदस्यले आफूलाई क्याम्प छोड्न भनिएको बताएका छन्। एन्फाले भने हालसम्म यस विषयमा कुनै अधिकारिक प्रतिक्रिया दिएको छैन।
एन्फाको गत आइतबार बसेको आकस्मिक कार्यसमिति बैठकले भूतपूर्व राष्ट्रिय खेलाडी भिक्टर रानाको संयोजकत्वमा पूर्व खेलाडी विदुर विष्ट र नेपाली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापा सम्मिलित समितिलाई यस घटनाको तथ्य खोज्न जिम्मेवारी दिएको थियो। समितिलाई ७ दिनको समय दिइएको भएपनि निर्वाचन र सार्वजनिक विदाका कारण १० दिनपछि समितिले प्रतिवेदन बुझाउने भएको छ।
समितिले घटनाको तथ्य खोजेर एन्फालाई सुझाव दिनेछ। एन्फा महसचिव इन्द्रमान तुलाधरका अनुसार समितिले प्रतिवेदन दिएपछि मात्र एन्फाले आफ्नो कदम चाल्नेछ। ‘समितिले आज प्रतिवेदन बुझाउने कुरा छ। अब उक्त प्रतिवेदनले के भन्छ। त्यसपछि मात्र के गर्न भन्न सकिन्छ,’ उनले भने, ‘समितिको सुझावले भनेको कार्य सचिवालयले गर्न सक्छ भने हामी गर्छौं नत्र कार्यसमितिमा पनि लग्नुपर्ने हुन सक्छ। पहिला समितिको प्रतिवेदन हेरेपछि मात्र त्यसबारे भन्न सकिन्छ।’
यसबीचमा प्रशिक्षणमा रहेका खेलाडीसहित टोलीले नेपालमै रहेका अफ्रिकी खेलाडी सम्मिलित टोलीसँग भने मैत्रीपूर्ण खेल खेलेको छ। तीन खेलमा १ जित, १ बराबरी र १ हारको नतिजा निस्किएको छ। नेपाली टोलीले अफगानिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने भनेपनि हाल उक्त खेल हुने नहुने दुविधा रहेको छ।