काठमाडौँ । चालु आर्थिक वर्ष २०७८/०७९ को पाँच महिनाको अवधिमा चितवनमा पूँजीगत खर्च ६ प्रतिशतभन्दा कम रहेको छ ।
चितवनमा सङ्घीय सरकारको बजेटबाट करिब ६ प्रतिशत तथा प्रदेश सरकारको बजेटबाट करिब चार प्रतिशतमात्रै पूँजीगत खर्च भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयका नियन्त्रक मुक्तिप्रसाद चापागाईंका अनुसार जिल्लामा सङ्घीय सरकारको बजेटबाट मङ्सिर मसान्तसम्म रु. ५४ करोड २१ लाख २९ हजार पूँजीगत खर्च भएको छ । चालु आवका लागि सङ्घीय सरकारले पूँजीगत खर्चतर्फ रु. नौ अर्ब २५ करोड १८ लाख विनियोजन गरेको छ । विनियोजित पूँजीगत बजेटको आधारमा खर्च भएको रकम पाँच दशमलव ८५ प्रतिशत रहेको उनले बताए ।
जिल्लाका लागि विनियोजित रु. १० अर्ब ६८ करोड ७० लाख चालु आवको बजेटमध्ये रु. ८४ करोड ८४ लाख खर्च भएको चापागाईंले बताए । योजना छनोट गरेर लागू गरेपछि बोलपत्र प्रक्रिया हुने, बोलपत्र प्रक्रिया पूरा भएर काम सुरु गर्दा करिब दुई महिना लाग्ने भएकाले आवको सुरुआती समयमा पूँजीगत खर्च कम हुने गरेको चापागाईंको भनाइ छ ।
फागुन–चैतदेखि मात्रै विकास बजेट बढी खर्च हुने गर्छ ।