पाल्पा - समाजवादी प्रेस सङ्गठन नेपालले हालै निधन भएका पत्रकार बिके पाल्पालीको परिवारलाई आज रु १० हजार आर्थिक सहयोग गरेको छ। सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठको नेतृत्वमा पाल्पालीको निवासमा गएको प्रतिनिधिमण्डलले उहाँको परिवारलाई सो सहयोग उपलब्ध गराएको हो।
सो अवसरमा अध्यक्ष श्रेष्ठले पाल्पाली जुझारु पत्रकार भएको बताउँदै उनको निधनबाट सञ्चार क्षेत्रमा अपूरणीय क्षति भएको बताए। सङ्गठनका उपाध्यक्ष एवं नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य शन्तराम बिडारीले निष्ठावान पत्रकारका रूपमा परिचित पाल्पालीको आदर्श अनुकरणीय रहेको बताउँदै बिरामी भएपछि उनलाई विगतमा आफूले सहयोग उपलब्ध गराएको स्मरण गरे।
सङ्गठनका कोषाध्यक्ष कृष्णराज गौतमले पाल्पाली पारिवारलाई यसअघि रु ३० हजार सहयोग गरेको जानकारी दिए। पाल्पालीका श्रीमती रेणुका भट्टराइले सङ्गठनले पटक–पटक उपलब्ध गराएको सहयोगको सराहना गरे। गत शिवरात्रिका दिन ४५ वर्षको उमेरमा निधन भएका पत्रकार पाल्पाली समाजवादी प्रेस सङ्गठनको साधारण सदस्यसमेत थिए।