नयाँ दिल्ली । गत जुनमा भएको एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान दुर्घटनामा ज्यान गुमाएका चार यात्रुका परिवारले अमेरिकी विमान निर्माता बोइङ र पार्टपुर्जा निर्माता हनीवेलविरुद्ध अमेरिकामा मुद्दा दायर गरेका छन्। टेक्सासस्थित लानियर ल फर्ममार्फत दायर गरिएको मुद्दामा कम्पनीहरूमाथि लापरबाही र डिजाइनगत त्रुटि लुकाएको आरोप लगाइएको छ।
मुद्दाअनुसार, विमानको इन्धन नियन्त्रण स्विचमा आएको खराबीका कारण दुर्घटना भएको हो। प्रारम्भिक अनुसन्धान प्रतिवेदनले पनि विमान जमिनबाट उडेको केही क्षणमै इन्धन आपूर्ति रोकिनु र थ्रस्ट हराउनु दुर्घटनाको कारण भएको पुष्टि गरेको छ। स्विच ‘रन’ बाट ‘कट-अफ’ स्थितिमा सारिएपछि इन्जिन रोकिएको उल्लेख गरिएको छ।
पीडित परिवारले बोइङ र हनीवेललाई दुर्घटनाको सम्भावित जोखिमबारे पहिले नै थाहा हुँदाहुँदै पनि सुरक्षा सुनिश्चित गर्ने कदम नचालेको भन्दै आरोप लगाएका छन्। उनीहरूको दाबी अनुसार, कम्पनीहरूले एयरलाइन्सहरूलाई इन्धन स्विचको नियमित निरीक्षण र मर्मतबारे चेतावनी दिन असफल भए मात्र होइन, प्रतिस्थापन पार्टपुर्जा पनि उपलब्ध गराएनन्।
दुर्घटनामा २२९ यात्रु, १२ जना चालक दल र जमिनमा रहेका १९ जनाको मृत्यु भएको थियो। यस मामिलाको विस्तृत अनुसन्धान प्रतिवेदन सन् २०२६ मा सार्वजनिक हुने अपेक्षा गरिएको छ।