म्याग्दी - पश्चिम म्याग्दीका मालिका गाउँपालिका–४ च्युरीबोट स्थित ३० किलोवाट क्षमताको विद्युत्गृहमा चट्याङले ठूलो क्षति पुर्याएको छ। सोमबार राति परेको चट्याङले च्युरीबोटस्थित दाजुङखोला लघुजलविद्युत्गृहमा क्षति पुर्याएको लघुजलविद्युत् सहकारी संस्था लिमिटेडका अध्यक्ष नन्दबहादुर घर्तीमगरले जानकारी दिए।
चट्याङले रु चार लाख ५५ हजार बराबरको क्षति भएको छ। जेनेरेटरमा क्षति भएपछि विद्युत् सेवा अवरुद्ध भएको छ। तीस किलोवाट क्षमताको सो लघुजलविद्युत् परियोजना बन्द हुँदा च्युरीबोट, ओखरबोट, महभिर छाप, खतेनलगायत गाउँका ३७६ घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन्।