काठमाडौँ - काठमाडौँ महानगरपालिकाले त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा राखिएको डिजिटल बोर्ड बन्द गराएको छ। सो डिजिटल बोर्ड नियम विपरीत संचालन भएको भन्दै महानगरले हटाउन पटक–पटक आग्रह गर्दा पनि सेन्टरले बन्द नगरेपछि बिहीबार महानगरपालिकाको टोली आफैं गएर बोर्ड बन्द गराएको हो।
सो बोर्ड बन्द गराउनको लागि नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको टोली मेयर बालेन्द्र शाहको निर्देशनमा पुगेका थिए। स्वीकृत मापदण्डमा ८०० स्क्वायर फिटमा मात्रै डिजिटल होडिङ बोर्ड राख्न पाइने भए पनि सो स्थानमा १६०० स्क्वायर फिटभन्दा बढी क्षेत्रफल ओगटेको पाइएपछि महानगरको टोलीले बन्द गराएको हो।
पछिल्लो समय महानगरपालिकाले अनधिकृत संरचनाहरू भत्काउने र अल्टिमेटम दिने काम गर्दै आएको छ।