काठमाडौँ - पाकिस्तानसँगकाे पहिलाे टेस्ट क्रिकेट इङ्ग्ल्यान्डले जितेकाे छ। १७ वर्षपछि पाकिस्तान पुगेकाे इङ्ग्ल्यान्डले रावलपिन्डीमा घरेलु टाेलीलाई ७४ रनले हराउँदै ३ खेलकाे शृङ्खलामा १-० काे अग्रता लिएकाे छ।
इङ्ग्ल्यान्डले दिएकाे ३ सय ४२ रनकाे लक्ष्य पछ्याएकाे पाकिस्तान २ सय ६८ रन बनाउँदा अलआउट भयाे। पाकिस्तानका लागि सउद सकीलले ७६, इमाम उल हकले ४८, माेहम्मद रिजवानले ४६ र अजहर अलीले ४० रन बनाएका थिए। बलिङतर्फ इङ्ग्ल्यान्डका ओली राेबिनसन र जेम्स एन्डरसनले ४/ ४ विकेट लिएका थिए।
पहिलाे पारीमा इङ्ग्ल्यान्डले ६ सय ५७ रन बनाएकाे थियाे। इङ्ग्ल्यान्डका लागि ज्याक क्रली, बेन डकेट, ओली पाेप र ह्यारी ब्रुकले शतक बनाएका थिए। इङ्ग्ल्यान्डले पहिलाे दिन नै ५ सय छ रन बनाउँदै १ सय १२ वर्ष पुरानाे कीर्तिमान ताेडेकाे थियाे। बलिङतर्फ पाकिस्तानका जहिद महम्मुदले ४ र नसीम शाहले ३ विकेट लिएका थिए।
यस्तै पाकिस्तानले पहिलाे पारीमा ५ सय ७९ रन बनाएकाे थियाे। पाकिस्तानका लागि अब्दुल्लाह शफिक, इमाम उल हक र बाबर आजमले शतक बनाएका थिए। बलिङतर्फ इङ्ग्ल्यान्डका विक ज्याक्सले ६ विकेट लिएका थिए।
पहिलाे पारीमा ७८ रनकाे अग्रता बनाएकाे इङ्ग्ल्यान्डले दाेस्राे पारीमा ७ विकेट गुमाएर २ सय ६४ रन बनाउँदै पारी समाप्तिकाे घाेषणा गर्दा पाकिस्तानले ३ सय ४२ रनकाे लक्ष्य पाएकाे थियाे।
याेसँगै इङ्ग्ल्यान्डले २२ वर्षपछि पाकिस्तानमा टेस्ट क्रिकेट जितेकाे हाे। यसअघि सन् २००० काे डिसेम्बरमा कराचीमा भएकाे टेस्ट क्रिकेट इङ्ग्ल्यान्डले ६ विकेटले जितेकाे थियाे। याेसँगै इङ्ग्ल्यान्डले पाकिस्तानमा भएकाे टेस्ट क्रिकेटमा जित सङ्ख्या ३ पुर्याएकाे छ।
अहिलेसम्म पाकिस्तान र इङ्ग्ल्यान्डबीच पाकिस्तानमा २३ वटा टेस्ट क्रिकेट खेलेका छन्। यसमा पाकिस्तानले ४ र इङ्ग्ल्यान्डले ३ टेस्ट जितेकाे छ। बाँकी १६ वटा टेस्ट बराबरीमा सकिएकाे छ।