उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले वैकल्पिक नयाँ शक्तिहरूलाई एकताबद्ध गराउने नेतृत्व उज्यालो नेपाल पार्टीले गर्ने बताएका छन्।
बिहीबार त्रिपुरेश्वरस्थित पार्टी कार्यालय उद्घाटन समारोहमा बोल्दै उनले आगामी दिनमा देशलाई समृद्ध बनाउन नयाँ पुस्ता र नयाँ शक्तिहरू एकजुट भएर अघि बढ्नु आवश्यक रहेको बताए।
घिसिङका अनुसार, देश परिवर्तनको बिन्दुमा पुगेको छ र निर्वाचनमार्फत नेतृत्व परिवर्तन गर्न नयाँ शक्तिहरूको एकता अपरिहार्य छ। उनले उज्यालो नेपालले एक महिनामा ठूलो संगठनात्मक संरचना तयार पारेको र पार्टी कार्यालय उद्घाटन मात्रै नभएर देशको भविष्य निर्माणको काम सुरु भएको बताए।
आगामी फागुन २१ गते हुने निर्वाचनलाई घिसिङले नयाँ शक्तिहरू उदयको प्रारम्भिक विन्दुका रूपमा हेरेका छन्। उनले आम जनताको चाहना अनुसार नेतृत्व परिवर्तन र देशको समृद्धितर्फ अघि बढ्न नयाँ शक्ति एक हुनु अपरिहार्य रहेको बताए।