आर्थिक समृद्धिको मुख्य आधार ऊर्जा क्षेत्र : राष्ट्रपति पौडेल

काठमाडाैं। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको आर्थिक समृद्धिका लागि सरकारले मुख्य आधारको रूपमा ऊर्जा क्षेत्रलाई लिएर यसलाई विशेष प्राथमिकता दिँदै आएको बताएका छन्।

नेपालको समृद्धिका लागि हरित ऊर्जा भन्ने नारासहित काठमाडौँमा सुरु भएको हिमालयन हाइड्रो एक्स्पो २०२४ को बिहीबार उद्घाटन गर्दै राष्ट्रपति पौडेलले नेपालको आर्थिक समृद्धिका लागि सरकारले मुख्य आधारको रूपमा ऊर्जा क्षेत्रलाई लिएर विशेष प्राथमिकता दिँदै आएकोले नै फलस्वरुप कुनै बेला ठुलो ऊर्जा संकट भोगेको नेपालमा बढ्दो ऊर्जा उत्पादनले राष्ट्रको ऊर्जा सुरक्षालाई मजबूद बनाउँदै लगेको बताए।

उनले नेपाल ऊर्जामा आयातित गर्ने राष्ट्रबाट निर्यात गर्ने राष्ट्रको रूपमा परिणत हुँदै गएकाले बिजुली व्यापारमार्फत नेपालको आर्थिक क्षेत्रमा सकारात्मक भूमिका निर्वाह गरिरहेको बताए।

उनले नेपाल छिमेकी राष्ट्रहरूका क्षेत्रीय बजारहरूमा स्वच्छ र हरित ऊर्जा निर्यातमार्फत नवीकरणीय ऊर्जाको उपयोग अभिवृद्धिका लागि योगदान दिने सक्ने अवस्थामा पुग्नु सन्तोषको विषय भएको जनाए।

सरकारले बिजुली छिमेकी राष्ट्र भारतमा निर्यात गर्ने गरी सम्झौता गरिसकेको र विक्रम सवत् २०८५ भित्र १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको सन्दर्भ उल्लेख गर्दै उनले यसमा पनि नेपाल सरकार र निजी क्षेत्र दुवैको उत्तिकै दायित्व र जिम्मेवारी रहेको बताए।

राष्ट्रपति पौडेलले स्वदेशी तथा विदेशी लगानीकर्तालाई बिना झण्झट उत्साहका साथ लगानीको वातावरण निर्माण गर्नु नेपाल सरकारको पनि दायित्व भएको र यसले निजी क्षेत्रको उत्साह वृद्धि भई मुलुकको समग्र अर्थतन्त्रमा योगदान पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा उर्जा जल श्रोत तथा सिँचाईमन्त्री शक्ति बहादुर बस्नेतले तथ्य, तथ्यांकमा आधारित रहेर आगामी १२ वर्षभित्रमा २८ हजार ७ सय मेगावाट विद्यतु उत्पादन गर्ने लक्ष्यसहितको रोडम्याप एक्सन प्लान तयार गरेको उल्लेख गरे।

उनले संसदमा रहेको विद्युत सम्बन्धि विधेयक चाँडै पारित हुने बताए। विद्युत सम्बन्धि विधेयकले रोडम्याप एक्सन प्लानको कार्यान्वयनको लागि महत्वपूर्ण योगदान पुर्याउने उनको विश्वास छ।

मन्त्री बस्नेतले सरकारले आगामी लगानी सम्मेलन समेतलाई दृष्टिगत गर्दै केही नेपाल ऐन संसोधनमार्फत नीतिगत सुधारका काम अगाडि बढाएको जानकारी दिए। देशको विकास र समृद्धिको लागि जलविद्युतको क्षेत्र निकै नै महत्वपूर्ण रहको बताए।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिले हिमालयन हाइड्रो एक्स्पो आयोजना गरेको हो। एक्स्पोमा १ सयभन्दा धेरै स्वदेशी तथा विदेशी कम्पनीका स्टल रहेकाछन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×