रुकुम (पूर्व) - उत्तरगङ्गा नदीमा पुल नहुँदा नागरिकले सास्ती खेपिरहेका छन्। जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका–१० र ११ लाई जोड्ने पक्की पुल नहुँदा उत्तरगङ्गा वारपार गर्ने सवारीसाधन ठप्प छन्। वर्षात् सुरु भएसँगै जेठको अन्तिम साताबाटै सवारीसाधन उत्तरगङ्गा नदी वारपार गर्न छाडेपछि स्थानीयवासी समस्यामा परेका छन्।
अहिले उत्तरगङ्गा नदीको बहाव झन् बढेको छ। अहिले रुकुमकोटबाट तकसेराका लागि जाने सवारीसाधन तल्लो सेरासम्म जाने गरेका छन् भने सवारी साधनमा गएका मानिस उत्तरगङ्गा पारिपट्टिबाट अर्को सवारीसाधन फेरेर तक र त्यसभन्दा उतापट्टिका क्षेत्रमा जानुपर्ने अवस्था रहेको स्थानीय दिलु बुढाले बताए। उनका अनुसार मोटरसाइकल र पैदलयात्री भने झोलुङ्गे पुलबाट वारपार गर्ने गरेका छन्।
पुल नहुँदा नै बर्खाको समयमा सामान ढुवानीमा पनि समस्या हुँदै आएको छ। अहिले तकसेरामा सडक पुगेको १० वर्ष पूरा भइसकेको छ। अहिलेसम्म पुल नहुँदा उत्तरगङ्गा वारपारको अवस्था सहज नभएको स्थानीयवासीले बताएका छन्।
मध्यपहाडी लोकमार्ग हुँदै सहिद मार्गले गाउँलाई जोडेको भए पनि उत्तरगङ्गा नदीले फेरि सडकबाट अलग भएको जस्तो गराइरहेको छ। यस वर्ष पनि उत्तरगङ्गाको बहाव बढेसँगै उत्तरगङ्गा पारिपट्टि चल्ने सवारीसाधनका लागि तकसम्म पुग्ने सवारीले तेल ढुवानी गरिदिएर सहयोग गर्ने गरेको यातायात व्यवसायी भूपेन्द्र बिएमले बताए।
यो सहिदमार्गअन्तर्गतको रुकुमपूर्व–रोल्पा–दाङ सडकखण्डको पुथाउत्तरगङ्गामा मुख्य सडक हो। पुल निर्माणका लागि डिपिआर भइसकेको थियो। हालसम्म पनि पुल निर्माण हुनसकेको छैन। पुल बनाउने प्रक्रिया सुरु भएको लामो समयसम्म काम थालनी नहुनु दुःखद् भएको गाउँपालिका अध्यक्ष पुनीराज घर्तीले बताए। अब भने छिट्टै पुल निर्माणको प्रक्रिया सुरु हुने अध्यक्ष घर्तीले बताए। पुल निर्माणका लागि डिपिआर गरेर काम अघि बढाउने क्रममा तल्लो सेरा र माथिल्लो सेराबीचमा पुल बनाउने ठाउँका विषयमा विवाद भएको थियो।