पोखरा - नवौं राष्ट्रिय खेलकुदको महिला क्रिकेटमा सुदूरपश्चिम प्रदेश र एपीएफ क्लब विजयी भएका छन्। पोखरास्थित क्रिकेट रंगशालामा एपीएफले वाग्मती प्रदेशलाई ४ विकेट र सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ६ विकेटले हराए। दुवैको पहिलो जित हात पारेका हुन्।
पहिलो खेलमा टस हारेर ब्याटिङ गरेर वाग्मतीले २० ओभरमा ७ विकेट गुमाउँदै ८९ रन बनायो। बाग्मतीबाट कप्तान अस्मिना कर्माचार्यले अविजित १९ रन र सुमन खतिवडाले १९ रन बनाएकी थिइन्। एपीएफकी रेखा रावल, नेरी थापा र इन्दु वर्माले समान १/१ विकेट लिएका थिए।
९० रनको सामान्य लक्ष्य एपीएफले ४ बल बाँकी छँदा पुरा गर्यो। रोमा थापाले २२ रनको योगदान दिइन्। कप्तान सीता रानामगरले १६, नेरी थापाले १६, ममता चौधरीले १७, इन्दुले ५ र राजमती ऐरीले ४ रन बनाएका थिए। वाग्मतीबाट सोनी पाख्रिन र सुमन खतिवडाले समान २ विकेट र अस्मिनाले १ विकेट लिएका थिए। नेरी थापा प्लेयर अफ द म्याच भइन्।
दोस्रो खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ६ विकेटले हरायो। टस हारेर ब्याटिङ गरेको गण्डकी प्रदेशले २० ओभरमा ५ विकेट गुमाएर ५९ रन बनायो। कप्तान सृष्टि जैसीले अविजित २८ रन बनाएकी थिइन्।
सुदूरपश्चिमकी ऋतु कनौजियाले २, अनु कठायत, स्नेहा महरा र साबित्री धामीले १/१ विकेट लिएका थिए। ६० रनको लक्ष्य पाएको सुदूरपश्चिमले ५८ बल बाँकी हुँदा ४ विकेट गुमाएर पूरा गरेका थियो।
ऋतुले सर्वाधिक २२ र स्नेहाले २१ रन बनाए। गण्डकीकी शिला क्षेत्रीले २, सृष्टिले १ विकेट लिएका थिए। ऋतु कनोजिया प्लेयर अफ द म्याच भइन्। सुदूरपश्चिम पहिलो खेलमा वाग्मतीसँग ८ विकेटले पराजित भएको थियो।