काठमाडौँ - डिफेन्डिङ च्याम्पियन नोभाक जोकोभिच लन्डनमा जारी विम्बल्डनको क्वार्टरफाइनलमा पुग्दै सातौं उपाधि हासिल गर्न अग्रसर भएका छन्।
सर्बियाली खेलाडी जोकोभिचले अन्तिम १६ को खेलमा डच वाइल्डकार्ड खेलाडी टिम भान रिजथोभनलाई ४ सेटमा हराएका थिए। शीर्ष वरीयताका जोकोभिचले सेन्टर कोर्टमा भएको उक्त खेल ६-२, ४-६, ६-१, ६-२ ले जितेका थिए। जोकोभिचक विम्बल्डनको क्वार्टरफाइनल प्रवेश गरेको यो १३औं पटक हो।
वरीयतामा १०४औं स्थानमा रहेका भान रिजथोभनले दोस्रो सेट जितेर सबैलाई आश्चर्य तुल्याएका थिए। तर, २० ग्रान्डस्लाम विजेता जोकोभिचले पछिको दुवै सेट जितेर अर्को चरणको यात्रा तय गरेका हुन्। जोकोभिचले अर्को चरणको खेलमा जानिक सिनरविरुद्ध खेल्नेछन्। इटालियन खेलाडी सिनरले स्पेनी युवा खेलाडी कार्लोस अल्काराजलाई ६-१, ६-४, ६-७, ६-३ ले पराजित गरेका थिए।
यस्तै, महिला सिंगल्सतर्फ कजाकस्तानकी एलेना रिबाकिनाले पनि अन्तिम आठको यात्रा सुरक्षित गरिन्। रिबाकिनाले क्रोएसियाकी पेट्रा मार्टिचलाई ७-५, ६-३ ले हराएकी थिइन्। उनी पहिलोपटक विम्बल्डनको अन्तिम आठमा पुगेकी हुन्।
विम्बल्डनको सेन्टर कोर्ट खुलेको एक सय वर्ष भएको छ। सेन्टर कोर्ट सन् १९२२ मा खोलिएको थियो। उक्त समयमा रंगशालामा भएको १५ हजार सिट भर्न नै चिन्ताको विषय थियो। अहिले भने सेन्टर कोर्ट संसारकै उत्कृष्ट रंगशालामध्ये एक बनेको छ। सेन्टर कोर्टमा विम्बल्डनमा शीर्ष खेलाडीले खेल्ने गरेका छन्।