काठमाडौँ- एपबाटै जीवनसाथी खोज्ने चलन नेपालमा नयाँ भएपनि विदेश तिर भने पूरानो भइसक्यो।
शादी डटकम, टिन्डर जस्ता एपहरू जोडी खोजिदिने प्लेटफर्मका रूपमा लोकप्रिय छन्। पछिल्लो समय नेपाली युवा पुस्तामा पनि यस्ता डेटिङ प्लेफर्म लोकप्रिय हुन थालेका छन्।
यस्ता डेटिङ एपबाट आफुले पहिले नै कुरा गरेर आफुलाई सुहाउँदो जोडी खोज्न सकिन्छ। सन् २०१३ मा अमेरिकामा भएको एक अध्ययनले अनलाइनबाट भेट भएका जोडी अधिक सन्तुष्ट र कम सम्बन्ध बिच्छेद हुने गरेको देखाएको थियो।
यस्तैमा नेपालमा पनि अनलाइनबाटै जीवनसाथी खोज्ने संस्कृति बसाल्न ‘बिहे नेपाल’ एप सुरू भएको छ। २ महिना अघि सार्वजनिक भएको बिहे नेपाल अहिले युवापुस्ताको आकर्षणमा छ, जसको प्रतिफल स्वरूप छोटो समयमै बिहे नेपाल ३६ हजार बढीले प्रयोग गर्न थालिसकेका छन्।