काठमाडौँ - एमसीसी सम्झौता अनुमोदन गर्न माओवादी केन्द्रको बैठक जारी रहेको छ। संसद्मा टेबल भएको एमसीसी सम्झौताबारे छलफल गर्न खुमलटारमा माओवादी केन्दीय कार्यालयको विस्तारित बिहान साढे सात बजेदेखि जारी छ। बैठकमा संसद्बाट विवादित विषयमा ‘व्याख्यात्मक घोषणा’सहित एमसीसीसम्बन्धि पुरक प्रस्तावलाई अनुमोदन गर्नेबारे छलफल भइरहेको छ।
एमसीसी सैन्य रणनीति नभएको, नेपाल र अमेरिकाको कानुन बाझिएको अवस्थामा नेपालको कानुन लागू हुने, लेखापरीक्षण नेपालको महालेखा परीक्षकको कार्यालयले गर्नेलगायत विषयमा व्याख्यात्मक घोषणा गर्नुपर्ने प्रस्तावमाथि छलफल भइरहेको छ।
एमसीसीको विषयमा माओवादीभित्र पनि दुई धार रहेको छ। वासिङ्टन डिसीस्थित एमसीसी मुख्यालयलाई प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डले संसदबाट एमसीसी पारित गराउने प्रतिबद्धता जनाउँदै हस्ताक्षर गरेर पत्र पठाएका थिए। गोप्य पत्र सार्वजनिक भएसँगै एसमीसी पारित गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसमेत सहमत भएको पुष्टि भएको छ। अध्यक्ष प्रचण्ड बाहिर भने संशोधन नभई एमसीसी पास गर्न नसकिने अभिव्यक्ति दिँदै आएका थिए।
एमसीसीमा सत्तारुढ दलले मतदान नगरे गठबन्धन टुट्ने कांग्रेसका शीर्ष नेताले अभिव्यक्ति दिन थालेपछि माओवादीले मध्यमार्गी प्रस्ताव अगाडि सारेको हो। यस अगाडि माओवादीको संसदीय दलको बैठकबाट एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय भएको थियो । एमसीसीका कारण धरापमा पर्ने अवस्था आएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार एक कार्यक्रममा सत्ता गठबन्धन सजिलै नटुटोस् भनेर लागिरहेको जानकारी गराएका थिए। उनले भने, ‘सत्ता गठबन्धन सजिलै नटुटोस् भनेर लागिरहेका छौं। गठबन्धन बचाऔं, एमसीसीको समस्या पनि समाधान होस्, गठबन्धन पनि नटुटोस् भनेर कुनै उपाय छ त भनेर छलफल भइरहेको छ।’
प्रतिनिधिसभा बैठक आइतबार १ बजे बोलाइएको छ। प्रतिनिधिसभाको आइतबारको बैठकका लागि एमसीसी सम्भावित कार्यसूचीमा परेको छ। अर्थमन्त्री जनार्दन शर्माले सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ। अमेरिकाले एमसीसी अनुमोदन गर्न फागुन १६ को समयसीमा दिएको छ। साभार - अन्नपुर्णपोष्ट