काठमाडौँ । एघार वर्षअघि सुरु गरिएको काभ्रेपलाञ्चोक उपत्यका एकीकृत खानेपानी आयोजनाको काम करिब ९८ प्रतिशत सकिएको छ।
केही महिनामै खानेपानीको समस्याबाट गुज्रिएका जिल्लाको तीन नगर धुलिखेल, बनेपा र पनौतीका बासिन्दाले अब केही महिनामै २४ सै घण्टा स्वच्छ खानेपानी पाउने भएका हुन्। तीन नगरका करिब ९३ हजार बासिन्दालाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने उद्देश्यले ११ वर्षअघि नेपाल सरकार र एशियाली विकास बैंक (एडीबी) बीच ऋण सम्झौता गरी आयोजनाको प्रक्रिया सुरु गरिएको थियो। सन् २०१० अक्टोवर २६ मा सम्झौता गरिएको खानेपानी आयोजना करिब रु एक अर्बमा सम्पन्न हुने जनाइएको छ। आयोजनाको रिजर्भवायर ट्याङ्की निर्माण र पाइप ओछ्याउनेलगायत भौतिक पूर्वाधारको सम्पूर्ण काम सम्पन्न भएको आयोजनाका सामुदायिक विकास अधिकृत कृष्णप्रसाद कायस्थले जानकारी दिए।
कायस्थका अनुसार भौतिक पूर्वाधार निर्माणको काम सकिएपछि परीक्षण स्वरुप हाल पनौतीको शारदा देवीस्थानमा पानी पुर्याइएको छ भने पानी वितरणका लागि व्यवस्थित गरिएका पाइपमा प्रेसर तथा चुहावट परीक्षणको काम भइरहेको छ। उनले भने, “मुख्य तथा अन्य पाइपलाइनमा प्रेसर जाँचको काम बाँकी छ, धमाधम घरमा धारा जडानको प्रक्रिया थालिएको छ।” उनका अनुसार आयोजनाअन्तर्गत अन्तिम चरणमा तीनै नगरमा हाल सञ्चालित खानेपानी आयोजना तथा उपभोक्ता समितिमार्फत वितरण भएको पानीको पाइपमा नयाँ खानेपानीको पाइप जडान गर्ने (इन्टर कनेक्सन)को काम भइरहेको छ।
तीन नगर र सडक विभागले सडक विस्तारका क्रममा कतिपय स्थानमा खानेपानीको पाइप फुटेकाले पछिल्ला केही महिना खानेपानी अयोजनाको काममा ढिलाइ भएको बताइएको छ। आयोजनाअनुसार क्षति पुर्याएका नगर र विभागले नै बनाइदिएका छन्। तीन नगरका एक हजार ११४ इन्टर कनेक्शन गर्नुपर्नेमा हाल सात सयको हाराहारिमा इन्टर कनेक्शन भैसेकेको आयोजनाले जनाएको छ। उपभोक्तालाई गुणस्तरीय खानेपानी उपलब्ध गराउन फिल्टर मिडिया जडानसमेत गरिएको छ।