नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ–शुभेच्छुक संगठनसँग कांग्रेसको छलफल

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रियालाई सुदृढ र व्यवस्थित बनाउन आज (शुक्रबार) पार्टीका भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग विस्तृत छलफल सुरु गरेको छ।

महामन्त्री गगन थापाको नेतृत्वमा रहेको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ले सानेपामा दिउँसो १ बजेका लागि विभिन्न भ्रातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारीहरूलाई डाकेको हो। सदस्यता वितरणलाई ‘राष्ट्रिय अभियान’का रूपमा अघि बढाउनका लागि आवश्यक तयारी, समन्वय र कार्यान्वयनका विषयमा विस्तृत बहस हुने समितिले जनाएको छ।

समिति सदस्य प्रकाश स्नेही रसाइलीका अनुसार आगामी महाधिवेशनलाई लक्षित गर्दै सदस्यता नवीकरण र वितरणलाई पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले आजको छलफल आयोजना गरिएको हो।

कांग्रेसले गत सोमबार बसेको बैठकबाट १५औँ महाधिवेशन पुस २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरिसकेको छ। त्यसअनुसार समिति बैठकले १६५ वटै निर्वाचन क्षेत्रमा दुई दिनभित्र नयाँ सदस्यता फाराम पठाइसक्ने निर्णय गरेको थियो।

महामन्त्री थापा नेतृत्वको समितिमा केन्द्रीय सदस्यहरू प्रकाश स्नेही रसाइली, सीता गुरुङ र योगेन्द्र चौधरी रहेको कांग्रेसले जनाएको छ।

नयाँ सदस्यता अभियानलाई तीव्रताका साथ अघि बढाउँदै महाधिवेशन तयारीलाई गति दिन कांग्रेस नेतृत्व सक्रिय बनेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×