काठमाडौँ- केही सातादेखि ‘राजेश हमाल अफिसियल’ ह्यान्डलको टिकटक एकाउण्टबाट दिनहुँजसो लाइभ पोस्ट आइरहेको छ। मध्यरातसम्म चल्ने उक्त लाइभ स्ट्रिमिङमा राजेश हमाल र उनकी पत्नी मधु आउँछन् र दर्शकसँग अन्तक्रिया गर्छन्। उक्त लाइभमा फ्यानहरुले गिफ्ट पनि पठाइरहेका हुन्छन्।
हमाल दम्पतीलाई मध्यरातसम्मै टिकटक लाइभमा देखेपछि कतिपयले आलोचना पनि गरिरहेका छन्। हमालका फ्यानहरुले ‘महानायक’ रातभर लाइभमा बस्नु राम्रो नभएको भन्दै त्यसो नगर्न सुझाएका छन्। उक्त खातामा राजेश हमालका अन्य भिडियो पनि पोस्ट हुने गरेको छ।
तर हमालले टिकटकमा आफ्नो अफिसियल एकाउन्ट नभएको र उक्त लाइभ फेक भएको बताए। हमालले मध्यरातसम्म आफ्नो पुरानो भिडियोलाई लाइभ गराइएकोप्रति आपत्ति पनि व्यक्त गरे।
‘म लाइभमा बसेको होइन। मेरो एकाउन्ट छँदा पनि छैन। कसले गरेको हो, त्यसप्रति मेरो आपत्ति छ,’ उनले भने, ‘त्यसो नगरिदिन आग्रह गर्छु।’
टिकटकमा आफ्नो रुचि नभएको पनि हमालले बताएका छन्।