‘बालविवाह मुक्त गाउँ बनाउने अभियान’

काठमाडौँ - जुम्लाको कनकासुन्दरी गाउँपालिकाले ‘बालविवाह मुक्त गाउँ बनाउने अभियान’ सञ्चालनमा ल्याएको छ।  

गाउँपालिकाले सचेतनाका कार्यक्रमका साथ परामर्श तथा छलफल सञ्चालन गर्दै  दण्डित गरेर भए पनि बालविवाह रोक्ने अभियान चलाएको छ। कनकासुन्दरी–४ का वडा सदस्य सिंहराज सार्कीले भने, “बालविवाह हुन नदिन सचेतनाका अभियान सञ्चालन गरिराखेका छौँ। बालविवाह रोक्न निगरानी समिति गठन गरी काम गरिरहेका छौँ।” बालविवाह गर्नेलाई वडाको सार्वजनिक सेवाबाट वञ्चित गर्नेदेखि विवाह नै बहिस्कार गर्ने संस्कारको विकास भएको कनकासुन्दरी–६ का लालु नेपालीले बताए।

दलित समुदायमा बालविवाह बढी भएकाले ती समुदाय नै अहिले बालविवाह रोक्न अग्रसर भएको उनको भनाइ छ। सो गाउँपालिकाका  वडा नं ४, ५ र ६ का बस्तीलाई बालविवाह मुक्त बनाउन सो अभियान केन्द्रित छ। विगतका तुलनामा छाउपडी कम भए पनि बालविवाहलाई रोक्न स्थानीयले अभियान नै सञ्चालन गरेको गाउँपालिको महिला तथा बालबालिका शाखाले जनाएको छ। जिल्लामा अझै ७० प्रतिशत बालविवाह हुने गरेको जनाइएको छ। गत आवमा जिल्लाका ८६० किशोरी २० वर्ष नपुग्दै आमा बनेका छन्।

तीमध्ये कनकासुन्दरीका मात्रै ९० किशोरीले २० वर्ष नपुगी बालविवाह गरेका थिए। पछिल्लो समय प्रविधिको दुरुपयोग, अभिभावले निगरानी नगरेकै कारणले जुम्लामा बालविवाह बढेको जनाइएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×