काठमाडाैं । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत देशभरबाट तीन हजार पाँच सयभन्दा बढी महाधिवेशन प्रतिनिधि चयन भएका छन् । महाधिवेशन सुरु हुन दुई साता अघिसम्म तीन हजार ५१० जना महाधिवेशन प्रतिनिधि चयन भएका हुन् ।
पार्टीको केन्द्रीय निर्वाचन समितिका सचिव तथा अधिवक्ता जगन्नाथ श्रेष्ठले १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म १३५ वटा निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधिको टुङ्गो लागेको जानकारी दिए ।काँग्रेसको विधानअनुसार, हरेक निर्वाचन क्षेत्रबाट क्षेत्रीय प्रतिनिधिले आफूहरू मध्येबाट निर्वाचित गरेका २५ जना महाधिवेशन प्रतिनिधि र एक जना क्षेत्रीय सभापति गरेर २६ जना महाधिवेशनमा चुनिने प्रावधान छ । सचिव श्रेष्ठले अब ३० वटा निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चयन हुन बाँकी रहेको जानकारी दिए ।