काठमाडौँ - फिफाले कतारमा हुने विश्वकप फुटबल २०२२ को ड्र सार्वजनिक गरेको छ। विश्वकपको पहिलो खेल नोभेम्बर २१ मा अल थुमामा स्टेडियममा ग्रुप (समूह) ‘ए’ का सेनेगल र नेदरल्याण्ड्सबिच हुनेछ। त्यसपछि आयोजक कतारले इक्वेडरसँग अल बेत स्टेडियममा खेल्नेछ।
पहिलो दिन नै ग्रुप ‘बी’बाट इङ्ग्ल्याण्ड र इरान आमनेसामने हुनेछन्। यो खेल प्रिमियर लिग सकिएको मात्रै ८ दिनपछि हुने भएको छ।
विश्वकप फाइनल क्रिसमसको एक साताअघि डिसेम्बर १८ मा दोहाको लुसेल रंगशालामा हुने भएको छ।
टुर्नामेन्टमा सहभागी हुने ३२ राष्ट्रहरूमध्ये सबैको टुंगो लागे पछि ड्र सार्वजनिक भएको हो।
चार पटकको विजेता जर्मनी विश्वकपमा स्थान सुरक्षित गर्ने पहिलो टोली हो। पाँच ट्रफीसहित विश्वकप इतिहासमा सबैभन्दा सफल ब्राजिल दक्षिण अमेरिकाको शीर्ष चार टोलीहरूमध्ये एकको रूपमा क्वालिफाई भएको हो।
यस्तो छ विश्वकपको ग्रुप ड्र
ग्रुप ए - कतार, इक्वेडर, सेनेगल, नेदरल्याण्ड्स
ग्रुप बी - इंग्ल्याण्ड, इरान, अमेरिका, वेल्स
ग्रुप सी - अर्जेन्टिना, साउदी अरब, मेक्सिको, पोल्याण्ड
ग्रुप डी - फ्रान्स, अस्ट्रेलिया, डेनमार्क, ट्युनिसिया
ग्रुप ई - स्पेन, कोस्टारिका, जर्मनी, जापान
ग्रुप एफ - बेल्जियम, क्यानडा, मोरक्को, क्रोएसिया
ग्रुप जी - ब्राजिल, सर्बिया, स्वीजरल्याण्ड, क्यामरुन
ग्रुप एच - पोर्चुगल, घाना, उरुग्वे, दक्षिण कोरिया