काठमाडौं । सहकारीको बचत अपचलन छानबिन गर्ने संसदीय समितिको क्षेत्राधिकारलाई अन्तिम रुप दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेताहरूको बैठक बस्दैछ । प्रमुख दलहरूको बैठक बिहान ९ बजे बस्ने तय भएको नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् ।
अहिले बिहान प्रधानमन्त्री प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको बैठक बस्न लागेको उनले जानकारी दिए । ‘बिहान तीन जना नेता मात्रै बस्नु हुन्छ । सहमति हुने भयो र आवश्यक पर्यो भने कार्यदलका सदस्य (कानून न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, एमाले प्रमुख सचेतक बर्तौला, कांग्रेस सांसद जीवन परियार, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल) पनि बस्छौं । सहमति भएन भने सदन सुरू हुन्छ,’ उनले सुनाए ।