काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो छ महिनामा कर्णाली प्रदेशमा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका १४१ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेका १४१ प्रतिवादीबाट ७३ वर्ष ९ महिना २८ दिन कैद भुक्तान गर्नुपर्ने प्रहरी वरिष्ठ उपरीक्षक खड्काले जानकारी दिए। उनीहरुबाट रु. १६ लाख १० हजार ८९० जरिवाना सङ्कलन गरिएको पनि उनले बताए। यसैगरी, सो अवधिमा २२ हजार १९८ लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको, ११ स्थानबाट अवैध जुवातास खेल्ने ८४ व्यक्तिलाई पक्राउ गरी कारबाही गरिएको प्रहरीले जनाएकोे छ। त्यस्तै, चालु आर्थिक वर्षको पहिलो छ महिनामा २४ नाल अवैध हातहतियारसहित १५ र लागूऔषध दुव्र्यसनी तथा अवैध कारोबार गर्ने ९० जनालाई पक्राउ गरी उनीहरूबाट ५९ ग्राम ३३३ मिलिग्राम ब्राउन सुगर, एक किलो २१३ ग्राम चरेस बरामद गरिएको छ।
नदीजन्य तथा खानीजन्य प्राकृतिक स्रोतको गैरकानुनी उत्खनन तथा ओसारपसार गर्ने ५८ सवारी साधन र ५१ जनालाई नियन्त्रणमा लिई उनीहरुबाट कारबाहीस्वरुप रु दुई लाख ४० हजार ५७० राजस्व सङ्कलन गरिएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।