काठमाडौँ - नेपाल र भारत सीमा क्षेत्रमा एकअर्का देशबाट बिजुली र पानी साटासाट गरेर १२ वर्षदेखि सुरक्षाकर्मीहरू सीमा क्षेत्रमा तैनाथ छन्। सीमा क्षेत्रको सुरक्षाका लागि तैनाथ सुरक्षाकर्मीले नेपालबाट बिजुली र भारतबाट पानी ल्याएर आआफ्नो क्षेत्रमा सुरक्षा प्रदान गरिरहेका छन्। हालसम्म उक्त क्षेत्रमा तनाव पनि उत्पन्न भएको छैन।
नेपालको दाङको कोइलाबास र भारतको बलरामपुर जिल्लाको बालापुरको जरुवा क्षेत्रमा सीमा सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीबीचको यो सद्भाव उदाहरणीय पनि देखिएको छ।
दाङको गढवा गाउँपालिका–८, कोइलाबास क्षेत्रमा पानीको समस्या छ। विशेष गरी फागुनदेखि जेठसम्म उक्त क्षेत्रमा पानीको हाहाकार हुन्छ। पानीका स्रोत (कुवा, धारा) भए पनि हिउँदमा धारामा पानी आउँदैन भने कुवा पनि सुक्छ ।
त्यसैले गर्दा भारतीय क्षेत्रबाट कोइलाबासमा पानी ल्याउनुपर्ने बाध्यता छ। उता बालापुरको जरुवा क्षेत्रमा बिजुली छैन। त्यसको असर भारतीय सीमा सुरक्षा बललाई पर्दछ। सुरक्षाकर्मीले आपूर्ति नेपालबाट बिजुली गरेर अभाव टार्ने गरेका छन्।
त्यसैले कोइलाबास क्षेत्रमा नेपाल र भारतबीच बिजुली र पानी साटासाट हुन्छ। भारतीय सीमा सुरक्षा बल ९एसएसबी०ले नेपालको बिजुली बाल्छ भने कोइलाबासका नेपालीलाई खानेपानी दिन्छ। यसरी पानी र विद्युत् साटासाट गर्न थालेको १२ वर्ष बितिसक्यो। नेपालतर्फ खानेपानी पाउँदा सुरक्षाकर्मी मात्र होइन स्थानीयवासी पनि खुसी छन्। गोरखापत्र दैनिकबाट