काठमाडौँ - कोलम्बियाली पप स्टार शकिरा फेरि चर्चामा छिन्। तर, यसपटक उनी आफ्नो गीतका कारण नभई कर छलीको आरोपका कारण चर्चामा छन्। स्पेनको एक अदालतले कर छलीको आरोपमा शकिराको अपिल खारेज गरेको छ।
रिपोर्टका अनुसार स्पेनका अभियोजकले यस मामिलामा शकिराविरुद्ध ८ वर्षभन्दा बढी जेल सजायको माग गर्ने बताएका छन्। यससँगै उनीहरुले २४ मिलियन डलर जरिवाना पनि माग गर्ने तयारी गरेका छन्।
तर, अहिलेसम्म अदालतबाट सुनुवाइको मिति दिइएको छैन। यसअघि शकिराले आफ्ना वकिलमार्फत् एक बयान जारी गरी सम्झौताको निवेदन खारेज गरेको जानकारी दिएकी थिइन्। उनले भनेकी छन्, ‘म निर्दोष छु। अब यो मुद्दा अदालतमा जान दिनुहोस्। कर छलीका सबै आरोपमा म त्यहाँ आफू निर्दोष भएको प्रमाणित गर्नेछु। मैले कुनै पनि प्रकारको कर छलेको छैन।’
शकिरामाथि कर छलीको आरोप पहिलोपटक सन् २०१८ मा समाचारमा आएको थियो। त्यतिबेला स्पेनका वकिलहरूले गायिकाले २०२१ देखि २०१४ सम्मको आम्दानीमा करिब १५ करोड ५० लाख डलर जम्मा नगरेको आरोप लगाएका थिए।
यस मामिलामा शकिरा २०१९ को जुनमा अदालतमा हाजिर भइन्। उनले आफ्नो बयानमा गल्ती अस्वीकार गरेकी थिइन्। उनले कर कार्यालयबाट जानकारी पाएलगत्तै रकम जम्मा गरेको पनि बताएकी थिइन्।