गुल्मी - पछिल्लो समय विवाहमा भोजभतेरका नाममा फजुल गर्ने प्रचलन बढेको छ। गुल्मीका एक दम्पतीले विवाहमा हुने भोजभतेरको खर्च कटाएर विद्यालयमा अक्षयकोष स्थापना गरेका छन्। जिल्लाको चन्द्रकोट गाउँपालिका–१ दिब्रुङ्ग सराङका नवराज खरेल दम्पतीले विवाहको खर्च कटाएर अक्षयकोष स्थापना गरेका हुन्।
खरेलको शुक्रबार रुरुक्षेत्र गाउँपालिका–४ बलेटक्सारकी विद्या खड्कासँग विवाह भएको थियो। विवाहको अर्को दिन शनिबार खरेल दम्पतीले दिब्रुङ्गकै शारदा माध्यमिक विद्यालयमा रु ५० हजार १०१ को अक्षयकोषको स्थापना गरेका हुन्।
त्यस्तै उनीहरुले विद्यालयका लागि एक हजार पाँच सय सर्जिकल माक्स पनि हस्तान्तरण गरेका छन्। खरेल सोही विद्यालयका पूर्वविद्यार्थी हुन्। उनी अहिले नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालयका खेलकुद तथा स्काउट प्रशिक्षक रहेका छन्।
खरेल आइटिएफ तेक्वान्दोका शिक्षक एवम् डोरितान खेल लुम्बिनी प्रदेशका अध्यक्ष हुन्। खड्का पनि स्काउट विपत् व्यवस्थापन आकस्मिक उद्धारकर्ता हुन्। त्यसैले उनले उक्त रकम खेल र स्काउटको क्षेत्रमा खर्च हुनेगरी अक्षयकोषको स्थापना गरेका हुन्। भोजभतेर गर्नुभन्दा समाजमा केही उदाहरणीय काम गर्ने प्रेरणाका साथ अक्षयकोषको स्थापना र माक्स प्रदान गरेको खरेलले बताए।