काठमाडौँ । बागलुङमा मुस्ताङको स्याउ र ताराखोलाको आलुको बजार निकै राम्रो छ। यसो त यसले मात्रै बागलुङको बजार माग धान्न नसक्दा चिनियाँ स्याउ, तराईको आलु र केरा उस्तै आयात हुन्छ।
फलफूल र तरकारीको आयु निकै कम हुन्छ। समयमै बिक्री नभएको खण्डमा बिग्रिएरसमेत जाने गरको छ तर शीतभण्डार गृहमा राख्न सके फलफूल तथा तरकारीले राम्रो मूल्यसमेत पाउँदै आएको छ। स्थानीय उत्पादन ताराखोलाको आलु र मुस्ताङको स्याउ बेमौसममा बिक्री गर्ने र आयातित स्याउ, केरा र आलुको सुपथ मूल्यमा बजारीकरण गर्ने उद्देश्यले गलकोटमा जिल्लाकै शीतभण्डारण गृह सञ्चालनमा ल्याइएको छ।
नयाँ सोच र नयाँ क्षेत्रमा लगानी गर्ने हो भने नेपालमा नै केही गर्न सकिन्छ भन्ने हेतुले गलकोटमा सात युवाले सिद्ध भैरव ग्रुपमार्फत सामूहिक लगानीमा शीतभण्डारण सञ्चालनमा ल्याइएको छ। गुल्मीका ईश्वरीप्रसाद ज्ञवाली र गलकोटका छ युवा मिलेर स्थानीय आलु र स्याउ तथा आयातित केरा, आलु र स्याउको बजारीकरण गर्नका लागि रु. दुई करोडको लागतमा एक वर्षदेखि शीतभण्डारण गृह सञ्चालनमा ल्याइएको छ।
अहिले बेमौसमी आलु, स्याउ र केरालाई प्राथमिकतामा राखेर शीतभण्डारण गृह सञ्चालन गर्दै आएको सिद्धभैरव ग्रुपका सञ्चालक ईश्वरीप्रसाद ज्ञवालीले जानकारी दिए। “हाम्रो मुख्य उद्देश्य ताराखोलाको आलु र मुस्ताङको स्याउलाई शीतभण्डारण गृहमा राखेर बेमौसममा बिक्री गर्ने हो, अहिले आलुभन्दा फलफूललाई बढी जोड दिइएको छ”, शीतभण्डारण गृहको व्यवस्थापकसमेत रहेका उनले भने, “मुस्ताङको स्याउ आयात नभएको समयमा चिनियाँ स्याउ तथा तराईको केरा र आलु भण्डारण गृहमा राखेर बिक्री गर्दै आएका छौँ।”
सिद्ध भैरव समूहले एक लाख २५ हजार केजी क्षमताको जिल्लाकै ठूलो शीतभण्डारण गृह सञ्चालनमा ल्याएपछि उपभोक्ताले मुस्ताङको स्याउ र ताराखोलाको आलुको बेमौसममा समेत स्वाद लिन सक्ने भएका छन्।