काठमाडौँ- कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्या अनुसन्धानको सिलसिलामा पक्राउ गरिएका भारतीय नागरिकलाई रिहा गरिएको छ। उनको डिएनए भेजाइल स्वाबसँग म्याच नभएसँगै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले उनलाई रिहा गरेको हो। निर्मलाको हत्या आरोपमा सवैभन्दा पहिले पक्राउ गरिएका दिलिपसिंह विष्टको पनि डिएनए नमिलेपछि रिहा गरिएको थियो।
२०७८ मंसिर २५ मा पक्राउ गरिएका भारतिय नागरिक निकार अलि हसनलाई डिएनए म्याच नभएसँगै थुनामुक्त गरिएको नेपाल प्रहरीका प्रवक्ता, एसएसपी विष्णुकुमार केसीले बताएका छन्।
१० साउन २०७५ मा कञ्चनपुरको भिमदत्त नगरपालिका उल्खाटामकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो। १३ बर्षिया निर्मलाको हत्यामा संलग्न रहेको आशंकामा पक्राउ गरिएका हसन कञ्चनपुर स्थित निर्मला पन्तको हत्या भएको ठाउँ नजिकै जग्गा भाडामा लिएर तरकारी खेती गर्थे।
हसनको डिएनए स्याम्पल केन्द्रिय प्रहरी विधि विज्ञान प्रयोगशालामा परिक्षण गरिएको थियो। डिएनएको रिपोर्ट नआउन्जेल कञ्चनपुर प्रहरीले उनलाई अभद्र व्यवहारको आरोपमा प्रमुख जिल्ला अधिकारीबाट अनुमति लिएर हिरासतमा राखेको थियो।