काठमाडौँ - ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिँगेदाउ’को दोस्रो लिरिकल गीत ‘ईश्वरसँग पनि’ सार्वजनिक गरिएको छ। सार्वजनिक गीत भिडियोमा सिनेमाका चल अचल दृश्य समावेश गरिएको छ।
अर्जुन पोखरेलको संगीत तथा प्रमोद ढुंगानाको शब्द रचना रहेको गीतमा कमल खत्री र अस्मिता अधिकारीको स्वर रहेको छ।
रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको लिरिकल भिडियोमा अभिनेत्री केकी अधिकारी, आँचल शर्मा, अभिनेता मुकुन भुषाल, कुशल बिष्ट र हिँउवाला गौतमलाई देख्न सकिन्छ। सिनेमामा पहिलो पटक अभिनेत्री केकी र आँचल जेठानी देउरानीको भुमिकामा देखिएका छन्।
सिनेमाको यसअघि सार्वजनिक गीत ‘आगो बिना बिँडी जल्दैन’ले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाएको निर्माण टिमले यो गीतबाट पनि दर्शकको मन जित्ने अपेक्षा राखेको छ।
कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको ब्यानरमा निर्माण भएको सिनेमामा संगम भण्डारी, विजय देउजा, आर्यन खड्का, अभयराज बराल, आशा भुषाल लगायतका कलाकारको पनि अभिनय रहेको छ।