जाजरकोट - स्थानीय तह, प्रदेश सरकार र सङ्घीय खानेपानी तथा व्यवस्थापन आयोजनाबीच सहकार्य गर्न जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले आग्रह गरेका छन्। सङ्घीय खानेपानी तथा व्यवस्थापन आयोजनाले प्रदेश सरकारसँग सहकार्य गरी अगाडि बढे मात्र काम प्रभावकारी हुने उनको भनाइ थियो।
सुर्खेतस्थित आयोजनाबाट कर्णालीका ६ जिल्लाको खानेपानीको समस्या हेर्दा काम गर्न गाह्रो भएको निमित्त कार्यालय प्रमुख शिव आर्यालले जानकारी गराए। बजेटको मात्रानुसार कामको विभाजन भएको भए काम गर्न सजिलो हुने उनको भनाइ छ। उनले ‘दरबन्दी अनुसारको कर्मचारी भएको भए काम गर्न सजिलो हुने थियो’ भने।
चौबीस जनाको दरबन्दीमा अहिले अधिकांश करारका कर्मचारी भर्ना गरेर काम गर्नुपरेको कार्यालयले जनाएको छ। वार्षिक बजेट ३० प्रतिशत खर्च गर्न नसक्ने सङ्घीय खानेपानी तथा व्यवस्थापन आयोजनाले कर्णालीको समस्या देख्न नसकेको आरोप लाग्दै आएको छ। जाजरकोट, रुकुम पश्चिम, दैलेख, डोल्पा, सल्यान, सुर्खेतमा खानेपानी योजनामा काम गर्दै आएको छ। भूगोल ठूलो भएकाले कर्मचारीको अभावमा काम गर्न नसकिएको हो।
प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय र स्थानीय तहले समेत खानेपानीको काम गर्ने भएकाले बजेटको मात्राअनुसार बजेट सोही निकायमा काम गर्नका लागि कार्यविभाजन भएमा छोटो समयमा सबै काम हुने मन्त्री सिंहले बताए। कर्मचारी अभावले बजेट कार्यान्वयनमै समस्या देखिनु दुःखद भएको मन्त्री सिंहले बताए।