काठमाडौँ - भारतको ठूलो फिल्म उद्योग मध्येको एक तेलुगू फिल्म उद्योगका निर्माताले आगामी अगस्ट १ देखि फिल्मको छायांकन रोक्ने घोषणा गरेका छन्।
कोरोना महामारीपछि धान्नै नसक्ने गरी फिल्म निर्माणको खर्च बढेको तर सोही अनुपातमा हलबाट आउने सेयर एकदमै न्यून भएको भन्दै तत्काललाई छायांकन स्थगित गर्ने निर्णय गरिएको हो। हैदराबाद केन्द्रित यो फिल्म उद्योगको निर्माता संघ तेलुगू प्रोड्युसर्स गिल्डले विज्ञप्ति जारी गर्दै समस्याको समाधान नभएसम्म सबै छायांकन कार्य रोक्ने जनाएको छ।
छायांकन लागत र खर्चबारे आफूहरुको मुख्य चासो रहेको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ। कोरोना महामारीपछि मनोरञ्जन संसारको लागत परिस्थिति र खर्चको अवस्थामा परिवर्तन आएको उल्लेख गरिएको छ।
‘एकपटक सबै फिल्म निर्माताबीच गम्भीरतापूर्वक छलफल हुनु जरुरी छ,’ ‘फिल्मको इकोसिस्टमलाई अझै राम्रो बनाउने र स्वस्थ वातावरणमा अझै राम्रा फिल्म रिलिज गर्ने सुनिश्चित गर्नु हाम्रो दायित्व हो। यस सम्बन्धमा हाम्रा सबै सदस्यले अगस्ट १ देखि स्वेच्छिक रुपमा सबै छायांकन रोक्ने निर्णय गरेका छौं। जबसम्म हामीले व्यावहारिक उपाय फेला पार्दैनौं।’विज्ञप्तिमा उल्लेख गरिएको छ।
कुन निर्माण संस्थाले यो निर्णयलाई पछ्याउँछन् थाहा छैन, तर यो निर्णयपछि महेश बाबु, जुनियर एनटीआर र प्रभासजस्ता कलाकारको आगामी फिल्मले ढिलाइको सामना गर्नुपर्ने अनुमान गरिएको छ।
कोरोना महामारीपछि तेलुगू फिल्मले हिट फिल्महरु दिएको छ। यो सूचीमा ‘आरआरआर’ र ‘पुष्पा’ सामेल छन्। तर निर्माताहरु बदलिएको लागत र खर्चको ढाँचालाई लिएर चिन्तित छन्।
यसअघि एक फिल्म निर्माताले पीटीआईसँग भनेका थिए, ‘आरआरआर, केजीएफ २ सहित अन्य १-२ फिल्मबाहेक थिएटर आम्दानी २० प्रतिशतको न्यूनतम बिन्दुमा झरेको छ। यसले उद्योगलाई नराम्रो असर परेको छ। यस्तो अवस्थामा सबैजना उद्योगको दिगोपनको बारेमा चिन्तित छन्।’