काठमाडौँ - युएईमा अगस्ट २७ बाट सुरु हुने एसीसी एसिया कप क्रिकेटका लागि भारतले स्टार ब्याट्सम्यान विराट कोहलीलाई समेट्दै १५ सदस्यीय टिमको घोषणा गरेको छ।
खराब लयमा गुज्रिरहेका कोहलीलाई एसिया कपको टिममा राख्नुको अर्थ भनेको अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म अष्ट्रेलियामा हुने आईसीसी टी-२० विश्वकप अघि उनी लयमा फर्केको हेर्ने चाहना हो।
यसअघिको सन् २०२१ मा भएको टी-२० विश्वकपमा भारतले खराब प्रदर्शन गरेका कारण पनि कप्तान रोहित शर्मा र उनको टिममाथि यसपटक विश्वकपमा राम्रो प्रदर्शन गर्ने थप दबाब रहेको छ।
विश्वकप आउन करिब २ महिना बाँकी हुँदा भारतलाई एसिया कपले तयारीको अवसर प्रदान गर्नेछ। जसका लागि कोहलीलाई पनि टिममा समेटिएको छ।
एसिया कपको पहिलो खेलमा भारतले अगस्ट २८ मा पाकिस्तानविरुद्ध खेल्दैछ र उक्त खेल कोहलीका लागि एउटा अवसर हुन सक्छ। साथै उनको लागि आलोचकहरुको मुख बन्द गर्ने अवसर पनि एसिया कप हुन सक्नेछ।