काठमाडौँ - इन्डियन प्रिमियर लिग (आईपीएल) को इतिहासमा सायद यो पहिलो पटक हो कि २०२२ सिजनमा टिभीको रेटिङ निरन्तर घट्यो। बीसीसीआइ लगायत धेरै दिग्गजहरूले यसप्रति चिन्ता व्यक्त गरेका छन्। यसको सबैभन्दा ठूलो कारण यो सिजनमा क्रिस गेल र एबी डिभिलियर्स नखेल्नु मानिएको थियो।
तर अब फ्यानका लागि खुसीको खबर आएको छ। वेस्ट इन्डिजका क्रिस गेलपछि अब दक्षिण अफ्रिकाका एबी डिभिलियर्सले पनि आगामी आइपिएल सिजनमा खेल्न सक्ने बताएका छन्। यसअघि विराट कोहलीले पनि डिभिलियर्सले अर्को सिजन खेल्न सक्ने खुलासा गरेका थिए।
एबी डिभिलियर्सले भने, ‘विराट कोहलीले यो खुलासा गरेको सुनेर धेरै खुसी छु। इमानदारीपूर्वक भन्नुपर्दा, मैले अहिलेसम्म कुनै निर्णय लिएको छैन। तर यो निश्चित छ कि म अर्को आईपीएलमा उपलब्ध हुनेछु। मसँग कति क्षमता हुनेछ निश्चित छैन, तर म त्यहाँ हुनेछु। मैले ट्वीटरमा सुनेको छु कि म बैंग्लोरबाट केही खेल खेल्न सक्छु। त्यसैले, म मेरो दोस्रो घर बैंग्लोर फर्केर चिन्नास्वामीको खचाखच भरिएको स्टेडियममा खेल हेर्न चाहन्छु।’
दक्षिण अफ्रिकाका पूर्वकप्तान रहिसकेका डिभिलियर्सले केही गएको नोभेम्बेरमा सबै किसिमका क्रिकेटबाट सन्यास लिएका थिए। अब भने उनको सन्यास फिर्ता हुने भएको छ। ३८ वर्षीय एबी डिभिलियर्स र क्रिस गेल रोयल च्यालेन्जर्स बैंग्लोर हल अफ फेममा समावेश हुने पहिलो दुई क्रिकेटर बनेका छन्। फ्रेन्चाइजीले मे १७ मा यसको पुष्टि गरिसकेको छ।
एबी डिभिलियर्सले आरसीबीका लागि जम्मा १५७ खेल खेलेका छन्। जसमा उनको नाममा २ शतक र ३७ अर्धशतकको सहयोगमा ४५२२ रन छन्। योसँगै टी–२० क्रिकेटका सबैभन्दा खतरनाक ब्याट्सम्यान मानिने क्रिस गेलले आरसीबीका लागि ९१ खेल खेलेर ५ शतक र २१ अर्धशतक सहित ३ हजार ४२० रन बनाएका छन्।
आईपीएल खेल्ने बारे गेलले भने, ‘म अर्को वर्ष फर्कनेछु। उनीहरूलाई म चाहिन्छ। म आरसीबी र पञ्जाबबीच एउटै टोलीमा बसेर उपाधि जित्न चाहन्छु। मैले आरसीबीमा राम्रो गरेको छु र पञ्जाब पनि राम्रो छ।’