राष्ट्रपति भण्डारीद्वारा पाँडेको तस्बिरमा माल्यार्पण

काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले काजी तुलाराम पाँडेको तस्बिरमा माल्यार्पण गरेकी छन्। शनिवार काठमाडौंको तलेजु भवानी मन्दिर परिसरमा काजी कालु पाँडे र काजी तुलाराम पाँडे स्मृति प्रतिष्ठानले आयोजना गरेको काजी तुलाराम पाँडेको स्मृति सभामा राष्ट्रपति भण्डारीले काँजी पाँडेको स्मरणमा उनको तस्बिरमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गरेकी हुन्।

टिष्टुङ, पालुङ, दहचोक, गोरखाको विजयी अभियानमा काजी तुलाराम पाँडेले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। स्मृतिसभामा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल लगायतको उपस्थिति थियो।

स्मृतिसभामा राष्ट्रपति भण्डारीले काजी कालुपाँडे श्रद्धाञ्जली पुस्तिका लोकर्पण समेत गरेकी थिइन्। वि.स. १८२५ आश्विन १४ गते (इ. १७६८ सेप्टेम्बर २६) का राति पृथ्वीनारायण शाहले राजज्योतिष कुलानन्द ढकालको साइतअनुसार काजी वंशराज पाडँे, तुलाराम पाडेँ, केहरसिंह बस्न्यातका साथ कान्तिपुरमा आक्रमण गरेका थिए। उनले १ हजार गोर्खाली तालिम प्राप्त सिपाही लिएर कान्तिपुर किल्लाको ढोका फोरेर एक दल नरदेवीतिरबाट, अर्को दल भीमसेनस्थान तिरबाट र तेश्रो दल टुँडिखेलतिरबाट हनुमानढोकातर्फ अघि बढेका थिए।

राजा जयप्रकाश मल्ल खुशीसाथ इन्द्रजात्रा मनाइरहेको समयमा गोरखालीहरुले आक्रमण गरेपछि उनी हतप्रद भएका थिए। अतः ४ घण्टासम्म अव्यवस्थित युद्ध लडेर ३०० अङ्गरक्षक साथ जयप्रकाश मल्ल तलेजुमा सेतो बारुद ओछ्याई पाटनतिर भागेपछि गोर्खाली सेना तलेजुमा प्रसन्नताका साथ विजयोन्मादसहित प्रवेश गरेका थिए।

सोही बेलामा बारुद जल्दा तुलाराम पाडेँसहितका केही सिपाहीको पिल्सिएर मृत्यु भएको थियो। उनकै स्मरणमा आज स्मृतिसभा मनाइएको हो। उनको कान्तिपुर राजदरबार हनुमान ढोकामा देहान्त भएको थियो।       
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×