तरकारीखेतीबाट आत्मनिर्भर हुँदै धम्कापुरका थारु महिला

दाङ - तुलसीपुर उपमहानगरपालिका– १५स्थित धम्कापुरका थारू महिला व्यावसायिकरुपमा तरकारीखेती गरेर आत्मनिर्भर बन्दै गएका छन्। ती मध्येकी एक हुन् ४२ वर्षीया स्यानी चौधरी। उनले व्यावसायिक रुपमा धनियाँखेती गरेर आत्मनिर्भर बन्नाका साथै आफूलाई  सफल महिला किसानको रुपमा चिनाएका छन् । 

आफूले उत्पादन गरेको धनियाँ बिक्री गर्न सधैँ एकाबिहानै छिटुवामा बोकेर तुलसीपुरका घरघर पुग्ने स्यानीले धनियाँको पात बिक्री गरेर मात्र वार्षिक रु चार लाखसम्म बचत गर्ने गरेको बताउछन्। यसपटक  मौसमी धनियाखेतीबाट मात्र  रु  दुई लाख ५० हजार आम्दानी गर्न सफल भएको उनको भनाइ छ। विसं २०५८ देखि नै यो पेसा अपनाए पनि व्यावसायिकरुपमा भने विगत १३ वर्षदेखि गर्न थालेको बताएकी स्यानीले हाल १० कट्ठा जमिनमा स्थानीय जातको धनियाँखेती गरेकी छन्। एक वर्षमा दुई पटक मौसमी र बेमौसमी धनियाँखेती गरेर बिक्री गर्दै आएको बताउने उनले प्रतिमुठा धनियाँ रु २० मा बिक्री गर्दै आएकी छन्।

धनियाँ बेचेर गरेको आम्दानीबाट स्यानीले गाउँमा १७ कट्ठा चार धुर जमिन खरिद गर्नुभएकामा १० कट्ठामा धनियाँखेती र अरुमा अन्य खाद्यान्न उत्पादन गर्दैआएको बताउछिन्। अहिले बेमौसमको लागि उक्त खेती सुरु गरिसकेको उनको भनाइ छ। यसैगरी सोही ठाउँकी ५० वर्षीया रेखा चौधरी पनि व्यावसायिक रुपमा तरकारीखेती गरेर आत्मनिर्भर बनेकी छन्।

उनले १५ कट्ठा जमिनमा चम्सुर, पालक, गोभी, टमाटरलगायत तरकारीखेती गरेकी छन्। रेखा पनि दैनिक बिहानै तरकारी छिटुवामा बोकेर पैदलै बिक्रीका लागि तुलसीपुर बजारसम्म आउने गर्छिन् । उनी भन्छिन् पहिला हामीले धानखेती गर्दथ्यौँ तर त्यसबाट मात्र राम्रो आम्दानी लिन नसकेपछि धानखेती छाडेर छ वर्षदेखि तरकारीखेती गर्दै आएका छौँ, दुःख त धेरै भए पनि आम्दानी राम्रो हुन्छ। वर्षमा रु चार लाखसम्म आम्दानी गर्न सफल भएको उनी बताउछिन्। सिँचाइका लागि पानीको समस्या हुने गरेको बताउने रेखाले अहिलेसम्म तरकारी खेतीसम्बन्धी कुनै पनि तालीम लिएकी छैनन्।  

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×