काठमाडौँ । तनहुँको ऋषिङ गाउँपालिकाको आयोजनामा सञ्चालित दोस्रो ऋषिङ अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि बागलुङको गलकोट नगरपालिकाले जितेको छ।
ऋषिङ गाउँपालिका–१ झापुटारमा सम्पन्न फाइनल खेलमा तनहुँको शुक्लागण्डकी नगरपालिकालाई पराजित गर्दै गलकोटले उपाधि जितेको हो । प्रतिस्पर्धात्मकरूपमा सम्पन्न खेलमा गलकोट ३–२ सेटले विजयी भएको हो। शुक्लागण्डकी नगरपालिका गत वर्ष सम्पन्न प्रथम ऋषिङ कपको विजेता हो। यसपटक शुक्लागण्डकीले उपविजेतामा चित्त बुझायो । स्याङ्जाको बिरुवा गाउँपालिकालाई पराजित गर्दै गलकोट फाइनलमा पुगेको थियो भने शुक्लागण्डकी भिमाद नगरपालिकालाई हराउँदै फाइनलमा पुगेको थियो।
यसैगरी स्याङ्जाको बिरुवा गाउँपालिका तेस्रो र तनहुँको भिमाद नगरपालिका चौथो भएको छ। जितसँगै गलकोट नगरपालिकाले रु एक लाख ४० हजार पुरस्कार प्राप्त गरेको छ भने द्वितीय भएको शुक्लागण्डकीले रु एक लाख पुरस्कार प्राप्त गरेको छ। तेस्रो भएको बिरुवाले रु. ६० हजार र चौथो भएको भिमादले रु. ३० हजार पुरस्कार प्राप्त गरेको छ। विजेतालाई गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले पुरस्कार वितरण गरे।
यही मङ्सिर १८ गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा १६ टोली सहभागी थिए।